काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसार आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।
राष्ट्रपति भण्डरीले नयाँ सरकार गठनको लागि दावी पेश गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिनुभएको थियो।
सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष आज बिहान बालुवाटारमा भएको गठबन्धनको बैठकबाट चुनाव अगाडिको सत्तागठबन्धनको औचित्य सकिएको घोषणा गर्दै बैठकबाट बाहिरिएर नेकपा एमालेका अध्यक्ष ओली सहित ५ वटा राजनीतिक दलका अध्यक्षसंग सहमति कायम गरी १ सय ६६ जना सांसदको समर्थनसहित राष्ट्रपति समक्ष सरकारमा दाबी गर्नुभएको थियो।
प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, जनमत पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १ सय ६६ सांसदले समर्थन गरेका थिए।
दलका नेताहरु शीतलनिवासमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त गर्न बहुमत सांसदको समर्थन लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि स्वतन्त्रबाट सांसद बनेका अमरेशकुमार सिंह समेत राष्ट्रपति कार्यालय शितल निवास पुग्नुभएको थियो।
समर्थकहरुसहित राष्ट्रपति निवास पुग्नुभएका नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा नियुक्ति गरियोस् भन्दै १ सय ६६ सांसदको समर्थन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गर्नुभएको थियो।
शीतल निवासमा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, रास्वपाका अध्यक्ष रवि लामिछाने र प्रवक्ता डा. मुकुल ढकाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ पनि पुग्नुभएको थियो।
शीतल निवासमा स्वतन्त्र सांसद डा. अमरेश सिंह, प्रभु साह, किरण साह पनि पुग्नुभएको थियो।





















