काठमाडौं, ११ पौष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुहुने भएकोे छ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ सोमबार अपराह्न ४ बजे हुनेछ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले आज शपथ खाने कार्यक्रम छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको १ सय ६६ सांसदको समर्थन छ।
सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ खाने बताइएको छ।
प्रचण्डलाई चीन र भारतको बधाई
प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चीनले बधाई दिएको छ।
काठमाडौंस्थित चिनियाँ दूतावासले ट्वीटमार्फत प्रचण्डलाई नेपालको ४४ औँ प्रधानमन्त्री भएकोमा बधाई दिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनुभएको छ।
मोदीले आइतबार साँझ ट्विट गर्दै प्रचण्डलाई शुभकामना दिनुभएको हो।
‘नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा न्यानो बधाई छ। भारत र नेपालबीचको मौलिक सम्बन्ध सघन सांस्कृतिक सम्पर्क र जनस्तरको न्यानो सम्बन्धमा आधारित छ। यो सम्बन्धलाई अझ सुदृढ गर्न तपाईँसँग मिलेर काम गर्न आतुर छु,’ मोदीले भन्नुभएको छ।


















