पोखरा(कास्की), ३० पौष । गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ।
उहाँलेले ६० सदस्यीय प्रदेशसभामा रहेका ३२ सांसदको मत पाउनुभएको छ।
जेष्ठ सदस्यको नाताले बैठकको अध्यक्षता गरेका एमालेका मित्रलाल बस्याल मतदानमा सहभागी नहुँदा नेकपा एकीकृत समाजवादीका सांसद दीपक मनाङे धितालको पक्षमा उभिनुभयो।
मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत लिंंदा पौष २५ गते उहाँ अनुपस्थित हुनुहुन्थ्यो।
मतदानमा नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती अर्यालले २६ मत पाउनुभयो।
नेपाली कांग्रेसका २७ सांसद रहेको सांसद महेन्द्रध्वज जिसी घरमा श्राद्द भएकाले उनी मतदानमा सरिक हुन सक्नुभएन ।
गोरखा १ ‘क’ बाट विजयी ६१ वर्षीय धिताल माओवादी जनमुक्ति सेनाको कमिसार हुनुहुन्थ्यो। २०५२ सालमा परिवारसहित भूमिगत बन्नुभएका धिताललाई पार्टीले युद्धसम्बन्धी तालिम लिन भारत पठाएको थियो।
भारतमा उहाँले बम र बारुद बनाउने तालिम लिनुभयो। जनयुद्धकालीन समयमा उहाँ बम बनाउने दस्तामा काम गर्नुहुन्थ्यो।
भेटेनरीमा आइएस्सी गर्नुभएका धिताल एकसमय सरकारी जागिरे हुनुहुन्थ्यो। २०४९ सालमा कर्मचारी आन्दोलनमा होमिएको आरोपमा उहाँको जागिर गएको थियो। त्यसपछि उहाँ निरन्तर माओवादीमै सक्रिय रहनुभयो। पार्टीमा हुँदा उहाँले कास्की, लमजुङ र गोरखाको इन्चार्ज भएर काम गर्नुभएको थियो।
उहाँ माओवादीको केन्द्रीय सदस्य तथा गोरखाको इन्चार्ज हुनुहुन्थ्यो । २०७० सालमा समानुपातिकबाट सांसद हुुनुभएका धितालले प्रत्यक्षमा भने पहिलोपटक चुनाव जित्नुभएको थियो।
कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेद्वार बन्नुभएका धितालले एमाले उम्मेदवार सुरेन्द्र थापालाई ५ हजार ६ सय ३५ मतान्तरले पराजित गर्नुभएको थियो।
गण्डकीमा उपसभामुखको चुनाव माघ २ गते तोकिएको छ।


















