
सानेपा(ललितपुर) १८ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कुशल संगठक एवम् पूर्वमन्त्री खुमबहादुर खड्कालाई उनकै सानेपास्थित निवासमा श्रद्धाञ्जलीको लागि राखिएको छ ।
उनको शवलाई शनिवार राती दिल्लीबाट काठमाडौ ल्याएको थियो ।
उपचारमा गएका उनका पारिवारिक सदस्यहरुले शव ल्याएका थिए ।
उनको शवलाई सीघै सानेपास्थित निवासमा लगिएको थियो ।
परिवारजन र पार्टीका शुभचिन्तक तथा सहयोगीहरुले आइतबार १ बजेसम्म निवासमै श्रद्धाञ्जली कार्यक्रम राखिएको र त्यसपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि लगिने बताएका छन् ।
बेलायतमा उच्च शिक्षा अध्ययनरत उनका सुपुत्र अनुराग खड्का आइतबार १८ गते विहान काठमाडौँ आउने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा प्रेस विज्ञप्तिमा चैत्र १८ गते विहान स्वर्गीय खड्काको आफ्नै निवास, सानेपा, ललितपुरमा धार्मिक संस्कार, विधि र परम्परा अनुसार गर्नु पर्ने सम्पूर्ण प्रकृया पुरा गरिसकेपछि उनको पार्थिव शरीरलाई पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र तत्पश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको उल्लेख छ ।
नेता खड्काको अन्त्येष्टि दिउसो ३ बजे पशुपति आर्यघाटमा गरिने भएको छ ।
प्रजातन्त्र पुनस्थापनाको संघर्षमा वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको प्रत्यक्ष निर्देशनमा काम गरेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसंगै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।