Prakash Adhikari March 7, 2023

काठमाडौं, २३ फागुन । आज तराई–मधेश क्षेत्रमा होली मनाइँदै छ।

मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाईदै गरिएको हो ।

पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ । द्वापरयुगमा मामा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव सुरु गरेको धार्मिक विश्वास पनि रहदैँ आएको छ।

तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहदैँ आएको छ ।

मिथिलामा तीन दिन होली

blog

मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्परा छ । त्यस अनुरुप आज होली पर्व मनाइँदै छ ।

होरी अर्थात फागु पर्व बारको आधारमा नभई तिथि र अन्तरगृह परिक्रमालाई आधार मानेर मनाइने भएको हुँदा यो पर्व आजै चैत कृष्ण प्रतिपदाका दिन मनाइन पर्ने साधु परम्पराका अनुयायीहरुको मत छ ।
“मध्यमा परिक्रमा जनकपुरको रङभूमि मैदानमा जम्मा भएकै दिन राती होलिका दहन गर्ने, भोलिपल्ट पूर्णिमाका दिन अन्तरगृह परिक्रमासँगै धुरा उडाउने र चैत कृष्ण प्रतिपदाका दिन पर्व मनाउने परम्परा छ”, महोत्तरीको भङ्गाहा–५ सीतापुरस्थित रामजानकी मठका साधु रामदास बैष्णबले भन्नुभयो, “यसमा बारको भूमिका हुँदैन, त्यसैले मिथिला परम्पराको होरी आज नै हो ।”

चैत कृष्ण प्रतिपदाकै दिन होरी मनाउने परम्परा भए पनि आज खरो मानिने भएकाले भोलि होरी मनाउने तयारीमा रहेका यहाँ धेरै छन् । यसपालि पूर्णिमा तिथिको भोग पनि दुई दिन देखिएको छ । सोमबार दिउँसो पूर्णिमा लागेर आज अबेर दिउँसोसम्म यो तिथिको भोग रहने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताउनुभयो । “हिजो करिब २२ घडि र आज करिब ३० घडि पूर्णिमाको भोग छ”, उहाँले भन्नुभयो ।

“बारको प्रभाव हुन्न, मानिन्न भन्ने कुरा हाम्रो परम्पराअनुकूल छैन, हामीकहाँ घरबाट निस्कदा, अन्य कुनै काम प्रारम्भ गरिदा यो बार, यो तिथि ठीक हुन्छ भनिन्छ”, भोलिको होरी तयारीमा रहनुभएका बर्दिबास–९ पशुपतिनगरका बच्चुलाल महतो भन्नुहुन्छ, “मङ्गलबार खरो दिन मानिन्छ, अनि एकापसमा अङ्कमाल गर्ने खुसीको पर्व यस्तो दिन किन पार्ने ? त्यसैले भोलि मनाइनु ठिक हो ।” महोत्तरीको जलेश्वर, रामगोपालपुर, बलवासहितका नगरक्षेत्रमा भोलि बुधबार होरीको तयारी देखिन्छ ।

आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन होरी मनाइँदै गरिए पनि यसपाली होरी शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लघार्दै लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होरी शान्त देखिएको हो ।

मधेस प्रदेशभित्रका आठै जिल्लामा स्थानीय (जिल्ला)प्रशासनले भीडभाड नगर्न, भीडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ ।

थारु समुदायमा होली आगो भित्र्याउने प्रचलन

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी, कञ्चनपुरका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त हुनुहुन्छ ।

देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उहाँ आगो बाल्न व्यस्त देखिनुभएको हो । होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उहाँले बताउनुभयो ।

“होलीका बेला भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ”, उहाँले भन्नुभयो, “देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका छौँ ।”

सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ । थारु गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाइएको रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन् ।

आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ । रोटी र गुड आगो ल्याउन आएका सबै जनालाई प्रसादका रूपमा समान रूपमा बाँड्ने र ग्रहण गर्ने चलन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ । आगलागी लगायतका घटना नहुन भनेर बाटोमा छुटेको आगो निभाइने गरेको उहाँले बताउनुभयो ।

“होलीका बेला आगोलाई सगुनका रूपमा भित्र्याउने गरेका छौँ”, उहाँले भन्नुभयो, “होलीका जलाएको भोलिपल्ट गाउँका महिलाले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु)ले निभाउने र सफा गर्ने गर्दछन् । महिला घर फर्केपछि होलीमा रङ लगाउने कार्य गरी रमाइलो गर्दै होली मनाउने गरिन्छ ।”

Share Now

Leave a comment.