
x
भ्याटिकन सिटीं, १९ चैत्र (बीबीसी) । ईष्टर पर्वको अवसरमा दिएको सन्देशमा क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले, उनकै शब्दमा, सिरियामा जारी नरसंहार रोक्न आह्वान गरेका छन्।
पोप फ्रान्सिसले दक्षिण सुडान तथा प्रजातान्त्रिक गणतन्त्र कंगोका मानिसहरुको घाउ पनि निको पारिदिन ईश्वरसँग प्रार्थना गर्ने बताए।
साथै कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गराउनका लागि वार्ता गर्न आह्वान गरे।
पोप फ्रान्सिसले उनले दिएको सन्देशको शक्तिले अभावको सामना गरिरहेकाहरूलाई आशा दिने बताएका छन्।
सामना
त्यसमा, उनकै शब्दमा, अहिलेको उपभोक्तावादी समयमा प्रायःजसो अस्वीकारको अवस्था सामना गरिरहेका आप्रवासी तथा शरणार्थीहरूबारे पनि पर्ने बताए।
भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स स्क्वाएरमा हजारौँ मानिसहरु पोप फ्रान्सिसको सन्देश सुन्न भेला भएका थिए।
क्याथोलिक इसाईहरुका सर्वोच्च धर्मगुरु चुनिएयता पोप फ्रान्सिसले सिरियामा जारी द्वन्द्वको खुलेरै निन्दा गर्दै आएका छन्।
बीबीसीका भ्याटिकन संवाददाता डेभिड विलीका अनुसार सन् २०१३ मा पश्चिमा सैन्य हस्तक्षेपको विरुद्ध नैतिक दबाब दिने कार्यको उनले नेतृत्व लिएका थिए।
आशा
सम्बोधनका क्रममा पोपले यमन तथा सारा मध्यपूर्वमा विभाजन र हिंसाको स्थान संवाद र आपसी सद्धावले लिन सकोस् पनि आफूले चाहेको बताएका थिए।
उत्तर कोरिया तथा दक्षिण कोरियाको बारे पनि बोल्दै उनले आसन्न वार्ताहरूले कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव कम गर्न सहयोगी हुने आशा व्यक्त गरे।
ती वार्ताहरूले कोरियाली प्रायद्वीपमा सद्धाव र शान्ति स्थापना हुने पनि उनको विश्वास थियो।
युक्रेन तथा भेनेजुएलामा देखिएको विभाजन र हिंसा पनि अन्त्य हुने विश्वास पोपले व्यक्त गरेका छन्।