Prakash Adhikari March 16, 2023

 

कीर्तिपुर (काठमाडौं) २ चैत्र । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपालले आफ्नो तथा लिगको अन्तिम खेल युनाइटेड अरब इमिरेट्स (युएई)सँग खेल्दैछ ।

खेल बिहान ९ः३० मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाली राष्ट्रिय टिमले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ।

नेपाल आफ्नो उच्च लय, मनोबल, घरेलु मैदान र दर्शकको भरपूर्ण फाइदा उठाउँदै युएईलाई हराएर सोझै जिम्बावेमा छनोट खेलमा प्रतिस्पर्धा गर्ने तयारीमा छ ।

यस खेलको लागि ११ हजार टिकट विक्री भएको छ । सबै टिकट सकिएको क्यानले जनाएको छ । नेपाली क्रिकेटका फ्यानहरु जिल्लाजिल्लाबाट बस रिजर्भ गरेर बाजागाजासहित आउने तयारीमा छन् । सामाजिक सञ्जालमा यो खेलप्रति नेपाली क्रिकेटप्रेमीहरुको ठूलो उत्साह देखिएको छ । यसै लिगका पछिल्ला ११ खेलमध्ये १० मा नेपाली टोली बिजयी बनेकोले नेपाल यो अन्तिम तथा निर्णायक खेलमा बिजयी हुने विश्वास सबैमा पलाएको छ ।

पहिलो खेलमा नेपालले युएईलाई ७१ रनमा अल आउट गराएको थियो । जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भएको थियो । नेपालका स्पिनर ललितनारायण राजवंशीले ७.५ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिएका थिए । ललित राम्रो लयमा छन् । पपुवा न्युगिनीलाई ९५ रनमा अल आउट गर्न ललितले दुई विकेट लिएका थिए ।

स्पिनर सन्दीप लामिछाने र ललितको आजको खेलमा घातक बन्न सक्छन् । सन्दीपले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ४० खेलमा ९८ विकेट लिएका सन्दीप युएईविरुद्ध दुई विकेट लिए ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी हुनेछन् । खेलमा करन के.सी., सोमपाल कामीको प्रदर्शन पनि तारिफयोग्य रहदै आएको छ ।

पछिल्लो चरणमा नेपालको ब्याटिड. पनि सुधारिएको छ । कुशल भूर्तेल सम्हालिन सके भने नेपालले आजको खेल पनि ठूलो अन्तरले युएईलाई पराजित गर्न सक्छ । त्यसो त नेपालका ब्याट्सम्यानहरु अहिले कोहीभन्दा कोही कम देखिएका छैनन् । अर्धशतक धेरैका लागि सामान्य भैसकेको छ । कुशल भूर्तेल,आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की सबैको प्रदर्शन प्रशंसायोग्य रहेको छ ।

लिगमा खेल्नुपर्ने ३६ खेलमध्ये नेपालले ३५ खेल खेलिसकेको छ जसमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ नेपाल चौथो स्थानमा छ।

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ।

युएई ३५ खेलमा १५ जित र १७ हारसहित ३३ अंकका साथ छैटौं स्थानमा छ। युएईले शीर्ष पाँचबाट बाहिरिएर सोझै ओडीआई मान्यता अवसर गुमाई सकेकोछ।

युएईले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफमा जर्सी र क्यानडालाई पछि पार्न सके आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ । अन्यथा युएईको ओडिआई मान्यता गुम्नेछ । युएई जिम्बावेमा हुने विश्वकप छनोट खेल्न प्लेअफमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ।

क्वालिफायर प्लेअफमा लिग–२ का पुछारका चार टोली, जर्सी र क्यानडा छन् । जसबाट शीर्ष दुई टोली विश्वकप छनोटमा पुग्नेछन् । युएईले पछिल्ला १२ मध्य २ खेलमा मात्रै जित हात पारेको छ । त्यसैको कारण सोझै ओडिआई मान्यता प्राप्त अवसर गुमाएको छ ।

 

खेलमा नेपालको टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नुहुनेछ । नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी.रहेका छन् ।

त्यस्तै युएईको टोली मोहम्मद वासिमको कप्तानीमा मैदानमा उत्रने छ । टिममा आयन खान, आर्यन लक्रा, अश्वन्त वल्थापा, आसिफ खान, अर्यांश शर्मा, सिपी रिजवान, हजरत बिलाल, जुनैद सिद्धिक, कार्तिक मयाप्पन, रोहन मुस्तफा, वृत्य अरविन्द, जहुर खान र जवार फरिद रहने छन् ।

अंक तालिका

ICC MEN’S CRICKET WORLD CUP LEAGUE 2
TEAM M W L PT NRR
SCOT 36 24 10 50 0.647
OMA 36 21 13 44 0.039
NAM 36 19 16 39 0.298
NEPAL 35 18 15 38 0.095
USA 36 16 17 35 -0.040
UAE 35 15 17 33 -0.223
PNG 36 5 30 11 -0.792

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३५ खेलमा १५ मा जित र १७ मा हारसहित ३३ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३६ खेलमा ५ मा जित र ३० मा हारसहित ११ अंक जोड्दै पुछारमा रहेर अन्त्य गर्यो ।

 

Share Now

Leave a comment.