कीर्तिपुर(काठमाडौं), २ चैत्र । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्तर्गत आज भैरहेको लिगको अन्तिम खेलमा नेपालले युएईको पहिलो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भैरहेको खेलमा नेपालका ललित राजवंशीले आफ्नो दोस्रो ओभरको पाँचौं बलमा युएईका ओपनर आयन लाक्रालाई ६ रन बनाउँदा आउट गरेका हुन्।
युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ।
अहिले सातौं ओभरको अन्त्यमा युएईले १ विकेटको क्षतिमा ४९ रन जोडेको छ । क्रिजमा कप्तान मोहम्मद वसिम र वृत्या अरविन्द खेलिरहेका छन्।
प्रधानमन्त्री दाहाल मैदानमा
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेल हेर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिवि क्रिकेट मैदान पुग्नुभएको छ।
खेल सुरु हुनु अघि नै प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदान पुग्नुभएको हो।
मैदान बाहिर पनि दर्शकको भिड छ। समर्थकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज समेत गरिसकेको छ।
लिग २ सिरिजकै अन्तिम खेलमा नेपालले युएईसँग खेल्दैछ।
घरेलु दर्शकहरुको उल्लेख्य साथ पाएको नेपाली टिम खेल जित्नेमा विश्वस्त छ ।
आज नेपालका समर्थकहरु पन्चेबाजासहित उपस्थित भएका छन्। नेपालको समर्थनका लागि सामाजिक सञ्जालबाट नै रकम उठाएर समर्थकहरु पञ्चेबाजासहित उपस्थित भएका हुन्।
बिहानै नेपालको झण्डासहित राष्ट्रिय टोलीको जर्सीमा समर्थकहरुको भिड कीर्तिपुरमा देखिएको छ। समर्थकलाई व्यवस्थापन गर्नका लागि प्रहरी र व्यवस्थापनलाई पनि हम्मेहम्मे परेको छ।
नेपाल र युएइबीचको खेलका लागि ११ हजार टिकट बिक्री गरिएको छ।
नेपालले सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिकासँग खेल्दै लिग २ को त्रिकोणात्मक सिरिजको सुरुवात गरेको थियो।
अहिले घरेलु मैदानमा नै युएई र पीएनजीसँग खेल्दै सिरिजको अन्त्य गर्नेछ।


















