Prakash Adhikari May 28, 2023

बीरेन्द्रनगर(सुर्खेत),१३ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहले कसैको अगाडि लम्पसार परेर बाँच्नु आम नेपालीको अपमान भएको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले देशको स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनु पर्ने अवस्था आएको बताउनुभएको हो।

नागरिक अभिनन्दन समारोहलाई संबोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान – हाम्रो शान हो – आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै–यस्तै आवाज सुन्छौँ ।’

पूर्व राजा शाहले नेपालको पिरमर्का बुझ्न नेपाली मुटुले मात्र सक्ने उल्लेख गर्दै के कस्तो विधि व्यवस्था अङ्गाल्ने र नेपालीको गौरव गरिमालाई पुनः ताजा बनाउने भन्ने बारेमा सोच्नै पर्ने बेला आएको बताउनुभयो ।

पूर्वराजाको संवोधनको पूर्णपाठ यसप्रकार छः


उपस्थित महिला तथा सज्जनवृन्द,

वीरेन्द्रनगर आएर तपाईहरुको न्यानो आत्मीयता पाउँदा मलाई धेरै खुशी लागेको छ। यो सुखद् क्षणमा तपाईहरुले दर्शाउनु
भएको स्वागत र सद्भावप्रति म कृतज्ञता व्यक्त गर्दछु । प्राचिन कालमा एक विशाल तालका रुपमा रहेको यो सुर्खेत सुरदेवताको करुणाले पछि उर्वर खेत बनेको भनाई रहेको छ । दैलेख, जाजरकोट, बाँके, बर्दिया, सल्यान, दाङ, डोटी अक्षाम र कैलाली गरी नौ जिल्लासंग जोडिएको र केन्द्रभागमा रहेको एक सुन्दर उपत्यका अहिले आधुनिक वीरेन्द्रनगर बनेको छ ।

आज भन्दा पचास वर्ष अघि नेपालको विकास प्रकृयामा सन्तुलन ल्याउन पाँच विकास क्षेत्रको राष्ट्रिय दृष्टिकोण आदरणीय दाजु श्री ५ वीरेन्द्रले अघि सारिबक्सेको हो । धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायललाई केन्द्रविन्दु बनाएर सबै क्षेत्रको समानुपातिक विकासको अवधारणा परिकल्पना गरिबक्सेको थियो ।

कर्णाली राजमार्ग, रत्न राजमार्ग, काक्री बिहार, बुलबुले ताल, कोठीकाँडा, लाटीकोईली, बयलकाँडा, सिद्धपाइला र वीरेन्द्रनगर शहरी संरचनालाई त्यही क्षेत्रीय विकासको अवधारणा बमोजिम नै अघि आएका हुन । क्षेत्रीय भ्रमण गरि सञ्चालित विकास कार्यको अनुगमन, निरक्षण र सुधार गर्दै जाने काम पनि हुँदै आएको हो ।

२०३० को दशक देखि नै शुरु भएका त्यस्ता सुखद सपनालाई दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला सम्म फैलाउँदै फुलाउँदै जानु आवश्यक छ । देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व हो । यो दायित्वमा निरन्तर संगठीत र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धती हो । लोकतन्त्र, जनतन्त्र, गणतन्त्र,

समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद आदी जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज,
समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो । विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ

जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो ।

तर दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधी व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सहि र सार्थक भएको छ र ? हामी जहाँ जहाँ जान्छौ जे जे सुन्छौ र जस्तो जस्तो देख्छौ त्यसबाट थाहा पाउँछौं आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो । नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरुले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ टिकाउको हुँदैन । हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ ।

अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान हाम्रो शान हो आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो त्यसैले कसैको अगाडी लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौ त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आवाज सुन्छौ ।

त्यसैले अब कसरी जाने के कस्तो विधी व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुन ताजा रुपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने वेला आएको छ । अब सोचों के गर्दा देशको राम्रो हुन्छ अब सोची के नगर्दा देशलाई फाइदा हुन्छ । राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ । नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ ।

अब हामी भन्दछौं मिलऔं, हामी सबै मिलव, त्यसैले हामी भन्दछो जुटौ, हामी सबै एक भएर जुटौं, त्यसैले हामी भन्दछौं हामी नफुटी र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौ । त्यसैले फेरी पनि भन्छौ जुटौ खटौ र डटी, स्वधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ती एक साथ अघि बढौं ।

सबैमा फेरि एकपटक हाम्रो धन्यवाद !

जय नेपाल !!


 

Share Now

Leave a comment.