Prakash Adhikari August 1, 2023

 

विराटनगर(मोरड.), १६ श्रावण । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नियुक्त गर्नुभएको छ ।

नेपालको सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान १०ः३० बजे मुख्यमन्त्रीले शपथ लिनु हुने कार्यक्रम तय भएको जनाइएको छ ।

विश्वासको मत पाउनेमा ढुक्क

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताउनुभएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्यमन्त्रीको नियुक्ति पत्र प्राप्त भएपछि आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदनमा विश्वासको मतका लागि कुनै समस्या नहुने बताउनुभयो । मुख्यमन्त्री थापाले विश्वासको मतका लागि कुनै शङ्का उपशङ्का नगर्न आग्रहसमेत गर्नुभयो ।

उहाँले सभामुखले राजीनामा दिएपछि प्रदेशसभा उपसभामुखले सञ्चालन गर्ने भएकाले बहुमत सदस्यको समर्थन आफूलाई रहेको प्रष्ट पार्नुभयो । उहाँले वर्तमान गठबन्धन सरकार चार वर्ष सञ्चालन हुनेमा ढुक्क रहन र जनताको समृद्धिमा सरकारले कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री थापाले प्रदेशमा राजनीतिक गणितका कारण अस्थिरता रहेको चर्चा गर्दै मुख्य चुनौती भनेको दलभित्र बहुमत नरहनु नै समस्या रहेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, “प्रदेशमा नौ जना मन्त्री नियुक्त गर्ने जानकारी दिँदै मन्त्रीमा नयाँ र पुराना अनुहार रहने छन् ।”

आजै दावी पेश
यस अगाडि आजै कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्नुभएको थियो ।

प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज उहाँले अपराह्न ४ः४२ को समयमा सो दाबी पेश गर्नुभएको हो ।
मुख्यमन्त्री पदमा थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जनाको समर्थनमा दाबी पेश भएको हो ।

त्रियानब्बे सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री पदका लागि बहुमत जुटाउन न्यूनतम ४७ सदस्यको समर्थन आवश्यक पर्छ ।

बहुमत सांसदको समर्थन जुटाउन सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई पदबाट राजिनामा गराएकको थियो ।

यसै बर्ष मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो ।

यस पहिले प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको पदमा नियुक्त हुनुभएकका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धब थापाले मुख्यमन्त्री दावी गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाउनु भएकोले विवाद भएको थियो ।

निश्पक्ष रहनुपर्ने र मत बराबरी भएमा मात्र निर्णायक मत दिन पाउने संवैधानिक अधिकार प्राप्त सभामुखको हस्ताक्षर उपयोग गरेर मुख्यमन्त्रीमा दावी गरी नियुक्त भएकोले नियुक्ति वदर गरिपाउन माग गर्दै नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दिनुभएको थियो । सर्वोच्च अदालतले सो रिटको सुनुवाई गर्दै मुख्य मन्त्री पदमा नियुक्तिको को यस अगाडिको प्रकृया संवैधानिक त्रुटी भएकोले पुनः मुख्यमन्त्री नियुक्तिको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई परमादेश दिएको थियो ।
सर्वोच्चको निर्णय अनुसार प्रदेश प्रमुख खापुडंले आज ५ बजेसम्मको समयावधि राखेर मुख्यमन्त्रीमा बहुमत सदस्यको समर्थनसहित दावी गर्न आह्वान गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.