Prakash Adhikari August 23, 2023

 

श्रीहरिकोटा(भारत), ६ भाद्र (बीबीसी)। भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराउँदै इतिहास रचेको छ।

यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो।

चन्द्रयान ३ को अवतरणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) को नियन्त्रण कक्षमा उपस्थित र सम्पूर्ण भारतीयहरूलाई बधाई दिँदै ‘भारत अब चन्द्रमामा पुगेको’ बताउनुभयो।

चन्द्रयान ३ ले चन्द्र सतह छोए लगत्तैदेखि भारतभर खुसीयाली मनाइएका विवरण आएका छन्।

वैज्ञानिकहरूले अवतरणअघिको अन्तिम १५ मिनेट समयलाई निकै महत्त्वपूर्ण एवं त्रासपूर्ण बताएकाले उक्त अवधिलाई व्यग्रताका साथ संसारभरबाट हेरिएको थियो।

गत सप्ताहान्तमा उस्तै लक्ष्य बोकेको रुसी अन्तरिक्षयान अवतरणका क्रममा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो।

चन्द्रयान ३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतकारूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्।

अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ।

चन्द्रयान ३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ।

यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए।

चन्द्रयान-३

चन्द्रयान ३ अवतरण भएको केही समयपछि विक्रम ल्यान्डरबाट छ वटा पाङ्ग्रा भएको रोभर बाहिर निस्किनेछ र चन्द्रमाको सतहमा रहेका चट्टान र खाडलहरूतिर अघि बढ्दै पृथ्वीमा महत्त्वपूर्ण तस्बिर तथा डेटाहरू पठाउनेछ।

रोभरको पाङ्ग्रामा इसरोको लोगो र प्रतीक चिह्न पनि छन्। पाङ्ग्राहरू गुड्दा तिनले चन्द्रमाको माटोमा इसरोको छाप बसाउने एक अधिकारीले बीबीसीलाई बताए।

चन्द्रयान
मोदीले थप के भन्नुभयो ?

ब्रिक्स सम्मेलनमा सहभागी हुने क्रममा दक्षिण अफ्रिकामा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा भर्चुअल्ली सम्बोधन गर्दै देशका सबैकोझैँ आफ्नो मन चन्द्रयान ३ मा रहेको बताउनुभयो।

मोदी

उहाँले भन्नुभयो, “भारतको सफल चन्द्र अभियान भारतको मात्र होइन।”

मोदीले भारतको मानव केन्द्रित शैली भन्दै ‘एक पृथ्वी, एक परिवार, एक भविष्य संसारभर गुञ्जिरहेको’ बताउनुभयो।

उहाँले यस क्षणका लागि भारतीय अन्तरिक्ष निकाय इसरोले वर्षौँ मिहिनेत गरेको बताउनुभयो।

“हाम्रा वैज्ञानिकहरूको कडा मिहिनेत र प्रतिभाले हामी चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेका छौँ, जहाँ विश्वको कुनै पनि देश पुग्न सकेका छैनन्। अब चन्द्रमासँग सम्बन्धित मिथकहरू फेरिनेछन्, कथा पनि फेरिनेछन्, नयाँ पुस्ताका लागि भनाइहरू पनि फेरिनेछन्।”

अवतरणको दिन
अवतरणको दिन समेत सावधानीपूर्वक तय गरिएको थियो।

यो दिन चन्द्रमाले आफ्नो कक्षमा परिक्रमा गर्दा लगाउने समय ‘लूनर डे’ को आरम्भसँग मिल्छ।

चन्द्रमाको एक दिन पृथ्वीमा १४ दिन हुन्छ।

ल्यान्डर र रोभरका ब्याट्रीहरूलाई चार्ज हुन र काम गर्न सूर्यको प्रकाशको आवश्यकता पर्छ।

रात परेपछि तिनले काम गर्न छाड्छन्।

चन्द्रमामा अर्को दिन हुँदा त्यसले फेरि काम गर्छ वा गर्दैन स्पष्ट छैन।

तेस्रो चन्द्र अभियान

चन्द्रयान-३
भारतको यस तेस्रो चन्द्र अभियानको सफलताको प्रार्थना गर्दै त्यहाँ बुधवार दिउसैदेखि मन्दिर, मस्जिद र गिर्जाघरहरूमा प्रार्थना कार्यक्रमहरू आयोजना गरिएका थिए।

यसअघि सन् २०१९ मा समेत भारतले चन्द्रयान २ मिसनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो।

तर यान दुर्घटनाग्रस्त भएपछि उक्त अभियान विफल भएको थियो।

सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र मिशन चन्द्रयान १ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो।

त्यसले दिउँसोको समयमा चन्द्रमामा वायुमण्डल पनि हुने जनाएको थियो।

चन्द्रयान-३

चन्द्रयान ३
एउटा अर्बिटर, ल्यान्डर र रोभर रहेको चन्द्रयान ३ लाई दक्षिण भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट गत जुलाई १४ मा प्रक्षेपण गरिएको थियो।

ल्यान्डरको नाम ‘विक्रम’ इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो)का संस्थापक विक्रम साराभाईप्रति सम्मान व्यक्त गर्न राखिएको हो। ल्यान्डरमा २६ किलोग्रामको ‘प्रज्ञान’ नामक रोभर छ।

प्रज्ञान संस्कृत शब्द हो र त्यसको अर्थ ‘विवेक वा बुद्धि’ हो।

 

Share Now

Leave a comment.