वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २२ साउन (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकारलाई खुम्च्याउन पुनः प्रयास गर्नुभएको छ। यसअघि सर्वोच्च अदालतले उक्त अधिकार कटौती गर्ने उहाँको अघिल्लो प्रयासलाई अस्वीकार गरेको थियो।
ट्रम्पले बिहीवार दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभयो, जसमध्ये पहिलोले जन्मसिद्ध नागरिकता नपाउने अवस्थाको दायरालाई फराकिलो पारेको छ। त्यसमा कस्तो-कस्तो अवस्थामा अमेरिकामा जन्मिएका शिशुहरू स्वतः अमेरिकी नागरिक हुँदैनन् भन्ने प्रष्ट्याइएको छ।
दोस्रो आदेशले ‘बर्थ टुरिजम’ माथि रोक लगाएको छ। गर्भवती महिलाले शिशुलाई नागरिकता दिलाउने उद्देश्यले अमेरिका गएर जन्म दिने चलनलाई त्यसो भन्ने गरिन्छ।
“यो काम धेरै वर्षअघि नै हुनुपर्थ्यो तर अब हामी यसलाई कार्यान्वयन गर्दै छौँ “, ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले भन्नुभयो। उहाँले १ सय ५० वर्ष पुरानो जन्मसिद्ध नागरिकताको नीतिलाई अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयास अस्वीकार गरेकोमा सर्वोच्च अदालतको आलोचना पनि गर्नुभयो।
“मेरो प्रशासनले ती दुर्भावनापूर्ण विदेशी पक्षहरूले उत्पन्न गर्ने जोखिमबाट आफ्ना नागरिकहरूलाई सुरक्षा प्रदान गर्छ जसले हाम्रो देशको उदारताको फाइदा उठाएर तिनलाई धोका दिन खोज्छन्”, पहिलो कार्यकारी आदेशमा भनिएको छ।
उक्त आदेशअनुसार शिशुका दुवै अभिभावक अमेरिकी नागरिक नभए र तीमध्ये कुनै एक विदेशी आतङ्कवादी समूहको सदस्य भएको, विदेशी सरकारको कर्मचारी भएको, जालसाजीमार्फत् अमेरिकी नागरिकता प्राप्त गर्ने प्रयास गरेको वा अमेरिकी सङ्घीय कानुनले नागरिकता प्रदान नगर्ने अमेरिकी भूभागमा बसोबास गरिरहेको भए उनीहरूका शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्।
राष्ट्रपति ट्रम्प र उहाँको प्रशासनका सदस्यहरूले लामो समयदेखि ‘बर्थ टुरिजम’ को आलोचना हुँदै आएको छ। उहाँहरूले विशेषगरी रुस र चीनका नागरिकहरूले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग गर्ने कोसिस गरेको आरोप लगाउँदै आउनुभएको छ।
बिहीवार ओभल अफिसबाट यी कार्यकारी आदेशहरूको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा प्रत्येक वर्ष ‘बर्थ टुरिजम’ मार्फत् सयौँ हजार शिशु जन्मिने गरेको बताउनुभयो।
तर स्वतन्त्र अनुसन्धान संस्था ‘माइग्रेशन पोलिसी इन्स्टिट्यूट’ले जनगणनामा आधारित भइ गरेको एउटा आकलनले अमेरिकामा हरेक वर्ष ‘बर्थ टुरिजम’ मार्फत् २२ हजार देखि २६ हजार शिशु जन्मिने गरेको देखाउँछ।
“मानिसहरू घुमघाम वा भेटघाट गर्न भनेर अमेरिका आउँछन्। तर उनीहरूको वास्तविक उद्देश्य यहाँ शिशु जन्माएर उनीहरूलाई स्वतः अमेरिकी नागरिक बनाउनु हो”, बिहीवार राष्ट्रपति ट्रम्पसँगै उपस्थित होमल्यान्ड सेक्युरिटी एड्भाइजर स्टिफन मिलरले भन्नुभयो।
उहाँका अनुसार त्यस्ता बालबालिकाले पछि सरकारी सामाजिक सहायता, मताधिकार तथा अमेरिकी नागरिकलाई मात्र प्राप्त हुने अन्य अधिकार र सुविधाहरू प्राप्त गर्छन्।
मिलरले ‘इमिग्रेसन एन्ड न्याशनलिटी एक्ट’को एउटा प्रावधानले राष्ट्रपतिलाई अमेरिका प्रवेश गर्ने व्यक्तिहरूमाथि सर्त तथा सीमाहरू निर्धारण गर्ने अधिकार दिएको बताउनुभयो।
सन् २०२५ मा दोस्रो कार्यकालका लागि पुनः पदभार ग्रहण गरेलगत्तै ट्रम्पले अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकताको अधिकार अन्त्य गर्ने उद्देश्यले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो।
उक्त विषयमा सुरु भएको कानुनी विवाद अन्ततः अमेरिकी सर्वोच्च अदालतसम्म पुग्दा अदालतले ट्रम्प प्रशासनले ल्याएको जन्मसिद्ध नागरिकताको अधिकार खुम्च्याउने नीति लागु हुन नसक्ने र उक्त व्यवस्था पूर्ववत् कायम रहने फैसला सुनाएको थियो।
उक्त फैसलालाई आप्रवासनमा कडाइ गर्ने ट्रम्पको निरन्तरको प्रयासमा ठूलो धक्काका रूपमा हेरिएको थियो।
बिहीवार ओभल अफिसबाट नयाँ कार्यकारी आदेशहरूको घोषणा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको निर्णयलाई खराब र निकै अन्यायपूर्ण भन्दै आलोचना गर्नुभयो,”यसले गर्दा हाम्रो देशलाई अप्ठेरो परिरहेको छ र हामी अब यसलाई अर्को तरिकाले रोक्दै छौँ।”








