Prakash Adhikari August 24, 2023

 

काठमाडौं, ७ भाद । झन्डै चार महिनाअघि मौसमविद्हरूले नेपालमा यो वर्ष बर्खायाममा सरदरभन्दा कम पानी पर्न सक्ने अनुमान गरेका थिए। त्यतिबेला मनसुन नै सुक्खा हुन्छ कि भन्ने डर पनि व्यक्त भएको थियो।

जेठको अन्तिम साता नेपालमा मनसुन भित्रियो। त्यसयता पटकपटक झरी परिरहेको छ।

नदीनजिक बसोबास बासिन्दालाई बारम्बार मोबाइल वा इन्टरनेटबाट सम्भावित भलबाढीबारे सूचना दिन सन्देश पठाइएको छ।

त्यसका अतिरिक्त विभिन्न स्थानमा बाढी र पहिरोले धनजनको क्षति भएको छ। बर्खाका कारण हवाई र सडक यात्रादेखि कृषि गतिविधि पनि प्रभावित भएका छन्।

यो मनसुनमा नेपालभरि कम पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको थियो। सरदरभन्दा कम पानी पर्ने भएकोले यसपालिको न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान थियो।

जनजीवन नै प्रभावित पार्ने यो झरी मौसमविद्हरूले भनेझैँ सरदरभन्दा बढी हो कि घटी त ?

के भन्छन् विज्ञ ?
नेपालमा मनसुन मध्यजुनमा (जेठ अन्तिमतिर) प्रवेश गरेर अक्टोबरको पहिलो साता (मध्यअसोज) तिर बाहिरिन्छ।

यस अवधिमा सरदर १,४७२ मिलिमिटर वर्षा हुने गरेको तथ्याङ्कले देखाउँछ। त्योभन्दा १० प्रतिशत बढी वा घटी वर्षा हुनुलाई औसत मानिन्छ।

तोकिएभन्दा १० प्रतिशतभन्दा कम पानी पर्‍यो भने त्यसलाई “ड्राई” अर्थात् ूसुक्खाू मनसुन भन्न सकिने मौसमविद् राजु प्रधानाङ्ग बताउनुहुन्छ।

पहिरो गएको क्षेत्र

वर्षाका कारण देशभरिका विभिन्न स्थानमा पहिरो र बाढीजस्ता प्राकृतिक विपद्का घटना देखा परेका छन् ।

यस वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म कुल ९९७ मिलिमिटर वर्षा भएको छ।

उनका अनुसार मनसुन अझै दुई महिना कायम रहने भएकाले तत्काल “यो वर्षको बर्खायाम सुक्खा रह्यो या रहेन” भन्न मिल्दैन।

“अक्टोबर २ (असोज १५) सम्म मनसुन रहन्छ। त्यति बेलासम्म पर्ने पानीलाई विश्लेषण गरेपछि मात्र हामी निष्कर्षमा पुग्न सक्छौँ ,” उहाँले भन्नुुभयो।

यद्यपि विगतका वर्षहरूको तथ्याङ्क तुलना गर्दा यस वर्ष जुलाई र अगस्टभरि जति पानी पर्नुपर्ने हो त्यति नपरेको जानकारी उहाँले दिनुभयो।

मौसममा यस किसिमको परिवर्तन नेपालमा मात्र देखा परेको हैन।

युरोपका विभिन्न देशमा उष्णलहर, अमेरिका तथा क्यानडाको विभिन्न क्षेत्रमा डढेलो, चिसा ठाउँहरूमा चरम गर्मीको समस्या उत्पन्न भएको छ। तिनको विश्लेषण गरेका विज्ञहरूले यसलाई जलवायु परिवर्तनको प्रभाव मानेका छन्।

्डेढ साताअघि हिमालीपारि अवस्थित मुस्ताङ जिल्लाको कागबेनीमा आएको बाढीलाई पनि जलवायु परिवर्तनसँग हेर्न सकिने मौसमविद् प्रधानाङ्गको धारणा छ।

“मनसुनमा झरी पर्नु स्वाभाविक हो। तर मुस्ताङको बाढी नियमित बर्खामात्र नभई जलवायु परिवर्तनसँग सम्बन्धित छ। बढ्दो तापमानका कारण वायुमण्डलमा आर्द्रता थेग्ने क्षमता बढी हुन्छ। त्यस्तो अवस्थामा वर्षा भयो भने पानीको मात्रा पनि अधिक हुन्छ,” उहाँले भन्नुभयो ।

चरणबद्ध नियमित पानी परिरहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि जोड दिइरहेको अधिकारीहरूले बताएका छन्।

मौसममा कहिले सुधार आउला ?

अहिले नेपालका विभिन्न स्थानमा केही दिनदेखि निरन्तर पानी परिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखाका कारण त्यसो भएको हो। उक्त रेखा आफ्नो स्वाभाविक स्थानभन्दा उत्तरतिर छ।

मौसमविद्हरूका अनुसार भारतको उत्तर प्रदेशको पश्चिमोत्तर क्षेत्रमा अवस्थित न्यून चापीय प्रणाली पनि नेपालतर्फ सर्दै आइरहेको छ।

“यस्तो प्रणाली नेपालनजिकै आउँदा मौसम बदली हुन्छ र पानी पर्छ। यो अवस्था केही स्थानमा शुक्रवारसम्म रहने र मध्य तथा पूर्वी भूभागमा शनिवार दिउँसोसम्म रहेर कम हुँदै जाने देखिन्छ,” प्रधानाङ्गले भन्नुभयो।

कुनै पनि बाह्य प्रणाली कम हुनुको अर्थ पानी नै नपर्ने भन्ने चाहिँ होइन। बरु अहिलेको चरणमा देखिएको बदली र वर्षा कम हुने विज्ञहरू बताउँछन्।

यो शृङ्खला अक्टोबर पहिलो सातासम्म जारी रहन्छ।

“मनसुनभरि बारम्बार चरणबद्ध रूपमा पानी पर्छ र यो क्रम अहिले नै रोकिँदैन,” उहाँले भन्नुभयो।

नेपालमा मनसुन कहिले भित्रिन्छ, कहिले बाहिरिन्छ
वर्षासँग डराउनुपर्छ ?

बर्खाको पानी जलविद्युत् र कृषिका लागि महत्त्वपूर्ण हुन्छ। त्यसैले पानीसँग डराउनुको साटो सतर्क रहनुपर्ने मत धारणा अर्की मौसमविद् इन्दिरा कँडेलको छ।

‍विशेषगरी ूभारी वर्षाूको सम्भावना भएको स्थान र जलस्रोत निकट समुदायका मानिसहरूले यस पाटोमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

“हामीकहाँ वर्षाबाट हुने प्राकृतिक विपद्को जोखिम धेरै छ। त्यसले पुर्‍याउने क्षति रोक्नका लागि सर्वसाधारण मानिसको तहबाटै सतर्क नरही हुँदैन।”

उहाँका अनुसार प्राकृतिक प्रकोप रोक्न नसकिए पनि क्षति कम गर्न मौसम पूर्वानुमानले उल्लेख्य सहयोग पुर्‍याउँछ।

त्यसैले सम्बन्धित निकायले मोबाइल फोनमा पठाएको चेतावनी वा कुनै पनि किसिमको सूचनालाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँ बताउँनुहुन्छ।

“प्रविधिको विकासले मौसम पूर्वानुमानको क्षेत्रमा ठूलो फड्को मारिसकेको छ। यसले विपद्को प्रभाव कम गर्न मद्दत पुर्‍याएको छ। त्यसैले पूर्वानुमान र चेतावनीलाई मान्नुपर्‍यो। कुनै ठाउँमा नबस्न निर्देशन दिइएको छ भन्ने बस्नु भएन, कहीँबाट सर्न भनिएको छ भने सर्नुपर्‍यो,” कँडेल भन्नुहुन्छ।

पूर्वानुमान शत प्रतिशत मिल्छ भन्ने हुँदैन। तैपनि मौसम र विपद्सम्बन्धी अद्यावधिक सूचना लिनु अपरिहार्य भएको उहाँ औँल्याँउनुहुन्छ।

कस्तो क्षति ?
मनसुनका कारण नेपालमा बाढी, पहिरो र ठूलो वर्षाले विपद् निम्त्याउने गर्छन्।

राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार विगत एक महिनामा ठूलो वर्षाका कारण ८३, पहिरोका कारण १२४ र बाढीका कारण ३,४२४ वटा परिवार प्रभावित भएका छन्।

सोही अवधिमा पहिरोका कारण १८ जना र बाढीका कारण चार जनाले ज्यान गुमाएको तथ्याङ्क छ।

यस्ता क्षतिहरू कम गर्न सरकारले सतर्कता कार्यक्रम र पूर्वसूचना प्रणालीलाई दुरुस्त राख्नमा जोड दिएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का बताउँनुहुन्छ।

 

मनसुनबाट प्रभावित हुनसक्ने घरधुरी र जनसङ्ख्या
नेपालमा झन्डै १०० दिन मनसुन सक्रिय हुन्छ

“स्मार्ट साइरनसहितको सूचना प्रणालीका कारण धेरै ठाउँका मानिसलाई सुरक्षित स्थानमा सरेका छन् र विपद्‌बाट जोगिएका छन्,” उहाँ भन्नुहुन्छ।

यद्यपि मानिसहरूले जोखिमयुक्त ठाउँ नछोड्दा वा नियमअनुरूप भवनहरू निर्माण नगर्दा क्षति न्यूनीकरण गर्न गाह्रो भएको उहाँले बताउनुभयो।

”सरकारको आग्रह नमान्दा सर्वसाधारण जनता प्रभावित भएका छन्। यसबारे अनुगमन गर्ने स्थानीय निकायहरूमा क्षमता र स्रोतको अभाव भएको हुनसक्छ। तर जनस्तरबाट पनि आवश्यक सहयोग भएको छैन।“

“सायद यो बाध्यता र चेतनाको कमीका कारण भएको हो।”

Share Now

Leave a comment.