जेरुसेलम(इजरायल), १५ भाद्र (एजेन्सी) । नेपाली फरवार्ड सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रदर्शनको मद्दतले हापोएल रानानाले इजरायली शीर्ष डिभिजनमा विजयी सुरुवात गरेको छ ।
लिगात नाशिम, इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा रानानाले रमाट हशारोनलाई शून्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराएको हो । खेलमा चारवटै गोल नै साम्बाले गरेकी थिइन्।
यस खेलमा सामेल भएसँगै साम्बा युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बनेकी छन् ।
करिब एक महिना अगाडि इजरायल पुगेकी साम्बाले यस अघि रानानाका लागि अथिना कपमा खेलहरु खेलिसकेको थिइन् ।
त्यस प्रतियोगितामा रानाना डिफेन्डिङ च्याम्पियन किर्याट गिलसँग पराजय बेहोर्दै सेमिफाइनलबाट बाहिरिएको थियो ।
गत सिजन भारतीय महिला लिगमा कीर्तिमानी प्रदर्शन गरेपछि लमजुड.े चेली साम्बालाई इजरायली लिगमा खेल्ने मौका मिलेको हो ।


















