कोलम्बो(श्रीलंका), १६ भाद्र(एजेन्सी) । एसिया कपमा आज उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा श्रीलंकाको पालकेले क्रिकेट स्टेडियममा हुनेछ । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन् । भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्लासिको समेत भन्ने गरिन्छ । विश्वमै सबैभन्दा बढी लोकप्रिय मानिने यस खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ ।
भारतको ब्याटिङको परीक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण सामु हुनेछ ।
दुबै टोलीमा विश्वस्टार बलर र ब्याटर छन् । भारतमा विराट कोहली र रोहित शर्मा जस्ता स्टार ब्याटर छन् । पाकिस्तानमा बाबर आजम र मोहम्मद रिजवान छन् ।
भारतमा जस्प्रित बुमराह, मोहम्मद शामी र मोहम्मद शिराज तीव्र गतिका बलरको रुपमा छन् । उता पाकिस्तानमा विश्वकै उत्कृष्ट तीव्र गतिको आक्रामक शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह छन् ।
पाकिस्तानका सबै बलर प्रतिघण्टा १ सय ५० किलोमिटरको गतिमा बलिङ गर्ने खुबी राख्छन् । भारतमा बुमराह बाहेक अन्य बलरलाई त्यो गतिमा गर्न कठिन पर्दछ ।
मोहम्मद नवाज र शादब खान पाकिस्तानका अलराउन्डर हुन् । भारतमा रविन्द्र जडेजा र हार्दिक पान्ड्या छन् । भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण २०१३ पछि सिरिज खेलेका छैनन् । एसिया कप र विश्वकपमा मात्रै यी दुई देशबीचको भेट हुँदै आएको छ । त्यसैको कारण यी दुई देशबीचको खेल झन महत्वका साथ हेर्ने गरिन्छ ।
भारतको ब्याटिङ उत्कृष्ट छ । ओपनर ईशान किशन, शुभमन गिल, रोहित शर्मा, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या जस्ता विश्वस्तरीय ब्याटर टोलीमा छन् । कुनैपनि खेलाडी एक्लै सहज जित दिलाउन सक्छन् ।
तर विराटको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । विश्व क्रिकेटमा बाबर र कोहलीमा उत्कृष्ट को भन्ने चर्चा चल्दै आएको छ । त्यसैले दुबै ब्याटरलाई दबाब छ । बाबरले नेपालविरुद्ध १ सय ५१ रनको इनिङ खेलेको हुँदा उच्च मनोबल छ ।
पिच स्पिनर सहयोगी हुँदा कुलदीप यादव, रविन्द्र जडेजा र अक्षर पटेललाई भारतले मैदान उतार्नेछ । पटेल र जडेजा अलराउन्डरको रुपमा खेल्नेछन् । श्रेयस ऐर टोलीमा फर्किएको हुँदा सूर्यकुमार यादवको स्थान कम देखिन्छ ।
तीव्र गतिको बलर बुमराह, शामी र शिराज हुनेछन् । बुमराह चोटबाट फर्किएको हुँदा उनको लय निकै महत्वपूर्ण हुनेछ ।
उता पाकिस्तानले नेपालविरुद्ध खेलबाट टोलीमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । ओपनर फखार जमान र ईमाम उल हकबाट राम्रो सुरुवात चाहन्छ । फखार जमान भारतलाई भारी बन्न सक्छन् ।
२०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराउन जमानले शतक हानेका थिए । त्यसपछि ५० ओभरको खेलमा पाकिस्तानले भारतलाई हराएको छैन । टि २० आईमा भने २०२१ को टि २० विश्वकप र २०२२ को एसिया कपको सुपर फोरमा हराएको थियो ।
तेस्रो नम्बरमा बाबर र चौथो नम्बरमा रिजवान हुनेछन् । बाबर र रिजवान पाकिस्तानका ब्याटिङका खम्बा हुन् । विश्वका नम्बर वान ओडिआई ब्याटर बाबरले जिम्मेवारी बढी लिनुपर्ने हुन्छ ।
पाकिस्तानको मध्यक्रम र तल्लोक्रम कमजोरीको रुपमा छ । पाँचौं नम्बरमा अघा सलमान र छैटौं नम्बरमा इफ्तिखार अहमद छन् । इफ्तिखारले नेपालविरुद्ध शतक हानेका थिए । उनको मनोबल उच्च हुनेछ । सातौं र आठौं नम्बरमा शादब खान र नवाज हुनेछन् । शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ तीव्र गतिका बलर हुन् ।
अफ्रिदी भारतीय ब्याटरलाई घातक बन्दै आएका छन् । बायाँ हाते तीव्र गतिका बलरविरुद्ध भारतको इतिहास नै राम्रो छैन । अफ्रिदी र नसिम शाहबाट सानदार सुरुवात चाहन्छ । पाकिस्तानको गति, स्वींग र बाउन्स बल खेल्न भारतीय ब्याटरलाई सहज हुनेछैन ।
भारत र पाकिस्तानबीच ५० ओभरको एसिया कपमा कुल १३ खेल भएका छन् । जसमा भारत ७ र पाकिस्तान ५ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच ओडिआई भेटमा भारत ४ र पाकिस्तान १ खेलमा विजयी भएको थियो ।
पाकिस्तानले पछिल्लो पटक भारतलाई ५० ओभरको खेलमा २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा १ सय ८० रनले हराएको थियो ।
उक्त खेल खेल्दाका शतकधारी फखार जमान, बाबर आजम र शादब खान अहिले टोलीमा छन् । भारतका विराट कोहली, हार्दिक पान्ड्या, रविन्द्र जडेजा र जस्प्रित बुमराह छन् ।
भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलकलासिको समेत भन्ने गरिन्छ । बाबरविरुद्ध बुमराह र कोहलीविरुद्ध अफ्रिदीको ब्याटल हेर्न लायक हुनेछ । विश्वस्टारले भरिभराउ यी दुई टोलीबीच कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ ।
पाकिस्तानको टोली
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
भारतको टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी , प्रसिद्ध कृष्ण र सन्जु स्यामसन (वैकल्पिक)(हाम्रो खेलकूदबाट)


















