Prakash Adhikari September 21, 2023

काठमाडौं, ४ असोज । आगामी कार्तिकमा नेपालमा हुने आइसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने भएको छ ।

प्रतियोगिता कार्तिक १३ देखि २० गते (३० अक्टोबर देखि नोभेम्बर ६) सम्म मूलपानी र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ ।

नेपालले पहिलोे खेल कार्तिक १३ (अक्टोबर ३०) मा सिंगापुरसँग टीयु क्रिकेट मैदानमा खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक १४ (अक्टोबर ३१) मा मलेसियासँग खेल्नेछ । नेपालले तेस्रो खेल कार्तिक १६ (नोभेम्बर २) मा ओमानसँग खेल्नेछ । नेपालका सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछन् ।

नेपालले सिंगापुर र ओमानसँगको खेल बिहान ९ बजे खेल्नेछ । मलेसियासँगको खेल दिउँसो १ः १५ मा सुरु हुनेछ ।

आईसीसी टी २० विश्वकप २०२४ को एशिया क्वालिफायरको समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट आउने टोली रहने छन् ।
एसिया क्षेत्र ए छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । एसिया क्षेत्र ए आगामी सेप्टेम्बर २८ देखि ५ अक्टोबर सम्म कतारमा हुँदैछ ।

शीर्ष दुई मा रहने दुबै समूहका टोलीले कार्तिक १७ (नोभेम्बर ३) मा सेमिफाइनल खेल्नेछन् । एउटा सेमिफाइनल टीयु र अर्को मुलपानीमा हुनेछ ।

फाइनल कार्तिक १९ (नोभेम्बर ५) मा टीयु क्रिकेट मैदानमा हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी२० विश्वकप खेल्न पाउनेछन् ।

 

Share Now

Leave a comment.