काठमाडौँ,९ असोज । नेकपा (एमाले(का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणको छानविन गर्ने अधिकारसहित उच्चस्तरीय आयोग गठन गर्नुपर्ने वताउनुभएको छ ।
नेकपा (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गर्नुभयो ।
पछिल्लोपटकको ६१ किलो र साढे नौ किलो सुनमात्र होइन, धेरै किलो सुन तस्करी गरी देशद्रोही काम भएको वताउँदै अध्यक्ष ओलीले सुन तस्करीको कुनै पनि समय छानविन गराएर छाड्ने दृढता व्यक्त गर्नुभयो ।
सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग राखेर आवाज उठाउँदा संसद् चल्न नदिएको भनी एमालेमाथि आरोप लगाउने सरकार र सत्तापक्षले अहिले लामो समयसम्म संसद् स्थगन गरेर जनप्रतिनिधिलाई जनताका समस्या प्रस्तुत गर्नबाट बन्चित गरेको दोषारोपण गर्नुभयो ।
उहाँले भन्नुभयो– सरकारले आयोग गठनमा विलम्ब, ढिलाढाला गर्नुको कारण सामान लुकाउने, मान्छे भगाउने, प्रमाण मेटाउने लगायतका व्यवस्थापनका कामका लागि हो ।
्
उहाँले गिरीबन्धु चिया बगानको जग्गाको विषय लगायत भ्रष्टाचारका कुनै पनि फाइल खोल्न सरकारलाई चुनौती दिनुभयो ।
अध्यक्ष ओलीले सरकार नालायक र निकम्मा भएका कारण मुलुकको अर्थतन्त्र डावाडोल भएको, मुलुक सामाजिक अराजकता र साँस्कृतिक विश्रृङ्खलतातर्फ गइरहेको वताउनुभयो ।
द्वन्द्व पीडितलाई क्षतिपूर्ति र परिपूरण
अहिले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा कुरा चलिरहेको र प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघमा गएर सहयोग माग्नुभएको सन्दर्भ उठाउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई द्वन्द्वका पीडितहरूसँग सहयोग माग्न सुझाउनुभयो ।
शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै उहाँले भन्नुभयो– द्वन्द्व पीडितलाई अन्याय गरेर, रुवाएर हुँदैन, मलमपट्टी लगाउनुपर्छ । तपाईंले पीडित बनाएकालाई क्षतिपूर्ति र परिपूरण दिनुपर्छ ।
शक्ति विभाजित हुनसक्छ तर सत्य विभाजित हुँदैन
शिक्षक आन्दोलनका सन्दर्भमा सरकारले गरेको विभेदकारी व्यवहारको पनि अध्यक्ष ओलीले आलोचना गर्नुभयो ।
अध्यक्ष ओलीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याइएको, आफू प्रधानमन्त्री रहेको समयमा विप्लव समूह र सिके राउतहरूलाई राजनीतिको मूलधारमा ल्याउन सफल भएको स्मरण गर्नुभयो ।
अध्यक्ष ओलीले नागरिकता विधेयक प्रमाणीकरणको विषयतर्फ इङ्गीत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बेरीत र असंवैधानिक काम गर्नुभएको वताउनुभयो ।
बीपीले नेतृत्व गरेको नेपाली कांग्रेस प्रजातन्त्र भन्दै थियो, अब त प्रजातन्त्रका ठाउँमा ‘प्रचण्ड’ र ‘प्रचण्ड पथ’ भन्न थालेको भनाइ उहाँले राख्नुभयो ।
अध्यक्ष ओलीले देशमा विकास र समृद्धिको नीति र कार्यक्रम बोकेर हिँडेको पार्टी एमालेमात्र भएको र मुलुकको पछौटेपन र गरिबीलाई हटाउन प्रतिबद्ध रहेको बताउनुभयो ।
अधिवेशन सफलताको शुभकामना दिनुहुँदै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिवेशन बाँकी सबै प्रदेशका लागि नमूना बन्ने गरी सम्पन्न हुन सकोस् भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश अधिवेशन सफलताको शुभकामना दिनुहुँदै नयाँ नेतृत्व सकेसम्म सहमतिबाटै चयन गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन सत्रमा महासचिव शंकर पोखरेलले पार्टीको ध्यान सरकार परिवर्तन नभएर बलियो राष्ट्रिय शक्तिका रूपमा एमालेलाई सुदृढ बनाउनेमा केन्द्रित भएको बताउनुभयो ।
पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका ईन्चार्ज गुरु बरालले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै देशका साथै प्रदेशका हरेक क्षेत्रमा रूपान्तरणको अगुवाई गर्ने अभिभारा एमालेको काँधमा रहेको वताउनुभयो ।
प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा रामहरि सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव विजय सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका नेताहरू उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहाचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव योगेश भट्टराई, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बा, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका नेताहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनले प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ ।


















