हेटौडा(मकवानपुर), १३ पौष । केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै दबाब दिन आज सातै प्रदेशका मुख्यमन्त्री र सचिवहरु बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका छन्।
केन्द्र सरकारसँग अधिकार माग्न दबाबमूलक कार्यक्रमअन्तर्गत आज उनीहरुले हेटौँडामा बैठक राखेका हुन्।
केन्द्र सरकारसंग अधिकार लिन प्रदेश मुख्यमन्त्रीहरुले विगतदेखि नै भेला गरेर विभिन्न प्रस्ताव पारित गर्दै आएका छन् । तर, संघीय सरकारले प्रदेश प्रमुखहरुले पारित गरेको प्रस्तावका विषयहरुलाई गम्भिरतापूर्वक लिएर कानून बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउने काम गरेको छैन ।
मुलुक संघीयतामा गएको ६ वर्ष बित्दा पनि संविधानमा उल्लिखित अधिकार संघीय सरकारले प्रदेशलाई नदिएको मुख्यमन्त्रीहरुको आरोप छ।
हेटौडामा मुख्यमन्त्रीहरुले तहगत अधिकार कार्य विस्तृतीकरण विषयमा अन्तरक्रिया गर्ने छन् ।उनीहरुलाई सघाउन सातै प्रदेश मुख्य सचिवहरु पनि हेटौँडामा भेला भएका छन्।
गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तरप्रदेश बैठकले ६ महिनाभित्र संघले प्रदेशलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरिसक्नुपर्ने प्रस्ताव पारित गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका हुन्।


















