Prakash Adhikari February 22, 2024

मूलपानी(काठमाडौं ), १० फागुन । नेपाल ए र क्यानडा ११ बीचको एकदिवसीय श्रृखलाको तेस्रो तथा निर्णायक खेलमा नेपालले क्यानडासामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोड्यो । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० रन कटाउन सकेनन् ।

पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो । ब्याटरहरुले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् ।

ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए । लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे ।

२१ औं ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए । उनले ५३ बलमा २ चौकाको सहाराले २७ रन जोडे । २४ औं ओभरमा कप्तान सन्दीप जोरा कट बिहाइन्ड भए । उनले २८ बलमा ३ चौका र १ छक्काको मद्दतले २४ रन बनाए । उनी आउट हुँदा नेपाल ८७ । ४ को स्थितिमा थियो ।

राशीद खानले २५ बलमा १९ रन जोडे । सुजन थपलियाले ५१ बलमा २० रन बनाए ।

बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो । त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै आउट भए । लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए । अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए ।

नेपालले आजको खेलका लागि टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् ।

आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा आएका छन् ।

क्यानडा ११ ले टोलीमा दुई परिवर्तन गरेको छ । दिलप्रित बज्वा र कलीम साना टोलीमा आएका छन् । कलीम नेपाल भ्रमणमा पहिलो पटक खेल्न लागेका हुन् ।

नेपाल ए संगको पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।

आज नेपालको नेपालको प्लेइङ११ मा अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी छन भने जगेडा खेलाडीको रुपमा बेन्च रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी रहेका छन्।

त्यस्तै क्यानडा ११ मा आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद, कलीम साना, दिलप्रित बज्वा रहेका छन् । क्यानडाले जगेडा खेलाडीको रुपमा श्रेयस मोभा, पर्गत सिंह, उदय भगवान सिंह र सहिद अहमदजाईलाई बेञ्चमा राखेको छ ।

 

Share Now