वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ११ फागुन (बीबीसी) । संयुक्त राज्य अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ। उसले व्यक्ति र संस्थाहरूविरुद्ध लगाएका प्रतिबन्धहरू ५ सय भन्दाधेरै छन्।
अमेरिकाले रुसद्वारा युक्रेनमाथि गरिएको हमला तथा युक्रेनी भूभाग कब्जा तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो।
अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताउनुभएको छ।
अमेरिकाले रुसमा व्यक्तिगत वा संस्थागत गरी १०० जतिलाई निर्यात प्रतिबन्ध लगाइएको छ।
पछिल्लो अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रमा कस्तो प्रभाव पर्नसक्छ भन्ने स्पष्ट छैन।
अमेरिकी राष्ट्रपति बाइडनको भनाई
एउटा विज्ञप्तिमा अमेरिकी राष्ट्रपति बाइडनले विदेशमा गरिएको आक्रमण र देशभित्रै भइरहेको दमनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलेअझ ठूलो मूल्य चुकाउने कुरालाई सुनिश्चित गर्ने जनाउनुभएको छ।
रुसी विपक्षी नेता नभाल्नीको जेलमा निधन भएको एक सातापछि अमेरिकाले त्यस्तो प्रतिबन्ध लगाएको हो।
नभाल्नीको मृत्युमा रुसी राष्ट्रपति दोषी रहेकोमा कुनै शङ्का नभएको बाइडनले बताउनुभयो।
ईयूको पनि प्रतिबन्ध
युरोपेली सङ्घ ईयूले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकाहरूलाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न भएका भन्दै २ सय जति व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ।
रुसले ती आरोपहरूको खण्डन गर्दै आएको छ।
नयाँ प्रतिबन्ध घोषणाको प्रतिक्रियास्वरुप रुसी विदेश मन्त्रालयले रुसमा प्रवेश गर्न नपाउने सूचीमा युरोपेली सङ्घका थप अधिकारीहरूलाई समावेश गरेको बताएको छ।