मस्कट(ओमान),८ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भइरहको खेलमा पनि नेपाल पराजित भएको छ ।
एसीसी प्रिमियर कप बिजेता बनेर टी २० एशिया कपमा सहभागिता जनाउने अपेक्षा गरिएको नेपाली टोली समूह चरणमा आफैले ८ विकेटले पराजित गरेको हङकङसामु आज ४ विकेटले पराजित हुनपुग्यो ।
आजको खेलमा नेपाली खेलाडी जम्न सकेनन् । ब्याटिड.मा भरपर्दो मानिएका ओपनर कुशल भूर्तेल डग आउट हुनु नै नेपालको मनोबल खस्किनुको कारण बन्यो ।
भूर्तेलको बहिर्गमनबाट नेपाली टोलीले शिक्षा लिएर जोगिएर खेलेको भए समूह चरणमा पराजित गरेको हंगकंगलाई पराजित गर्न कुनै समस्या हुने थिएन् । तर सबैले उही गल्ती दोहोर्याए । सातौ क्रममा रहेका दीपेन्द्रसिंह ऐरीले टिमलाई सम्मानजनक स्थानमा त ल्याएका हुन् । उनलाई शीर्ष स्थानमा राखेको भए सायद नेपालले रन माथि पुर्याउन सक्थ्यो ।
ब्याटिड.मा रन जुटाउन नसकेको अवस्थामा बलिड.मा भर पर्नुपर्ने हुन्छ । तर सन्दीप लामिछाने काठमाडौ जिल्ला अदालतबाट यौनदूराचारमा दोषी ठहरिएपछि टिमबाट निलम्बनमा परे । नेपालले अन्तर्राष्ट्रिय खेलमा उनकै सरहको प्रदर्शन गर्ने अकौ बलर उत्पादन गरेर मैदानमा पठाउन सकेन । आजको खेलमा हंगकंगका अन्शु रथको विकेट झारेको भए केही आशा गर्न सकिेने थियो । नेपाली बलहरुले उनलाई ढाल्न सकेनन् ।
आजको खेलमा नेपाल हगकंगसंग ४ विकेटले पराजित भयो ।
नेपालले दिएको १ सय ४० रनको लक्ष्य हंगकंगले ३ बल बाँकी रहदा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
हंगकंगका लागि अंशुरथले ६५,बाबर ह्यातले २६, अजिज खानले १२, नसरुल्लाह रानाले ११, यासिम मुर्तजा र अदित गोरावाराले ९।९ र निजाकत खानले ३ रन बनाएका थिए ।
हंगकंगलाई रोक्ने क्रममा नेपालका सोमपाल कामीले ३ र दीपेन्द्रसिंह ऐरीले विकेट लिए ।
यस पहिले ओमानको मस्कटस्थित अल इमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरको खेलमा पुरै ओभर खेल्दै १ सय ३९ रन बनाएको छ ।
नेपालका ओपनर ब्याट्स्म्यान कुशल भूर्तेललाई डग आउट पारेको हंगकंगले नेपाललाई पुरै समय दबाबमा राख्यो ।
नेपालको लागि सातौ क्रममा रहेका अल राउण्डर दीपेन्द्रसिंह ऐरीले अबिजित ४४ रन जोडेर नेपाललाई यो सम्मानजक स्थितिमा पुर्याएका हुन् । नेपालका लागि सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुलशन झाले ६, आशिफ शेखले ५, करन के.सी.ले ३ र ललित राजवंशीले २ रन जोडे ।
शीर्ष क्रमका ब्याट्सम्यानहरु धराशायी भएपछि नेपाल आजको खेलमा निकै दबाबमा रह्यो ।
नेपाललाई रोक्ने क्रममा हंगकगका आयुश शुक्लाले ३,आतिक इक्वाल, इशान खान र यातिव मुर्तजाले एक एक विकेट लिए ।
एशिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एशिया कपमा छनोट हुनेछ ।
इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।
नेपालको उपाधि आकांक्षा सहित लगातार दोस्रो पटक एशिया कप खेल्ने ईच्छामा युएई हिजो बाधक बनेको थियो । प्रतियोगिताको विजेता मात्र एशिया कप खेल्ने प्रावधान रहेकोमा साविक विजेता नेपाल हिजो युएई विरुद्ध ६ विकेटले पराजित भएसँगै नेपालको उपाधि यात्रा अघि बढ्न सकेन ।
उता हङकङ भने घरेलु टोली ओमान विरुद्ध हिजो नै ५ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।
हङकङ र नेपाल यस अघि यसै प्रतियोगितामा समूह चरणमा भिडेका थिए । सो खेल नेपालले ८ विकेटले जितेको थियो ।


















