Prakash Adhikari April 22, 2024

जेरुसेलम(इजरायल), १० बैशाख(बीबीसी) । इजरायलको सैन्य गुप्तचर निर्देशनालयका प्रमुखले गत अक्टोबर ७ मा हमासले भीषण आक्रमण गर्नुअघि त्रुटिहरू भएको स्वीकार गर्दै राजीनामा दिनुभएको छ।

इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार उहाँको उत्तराधिकारीको नाम टुङ्गो लागेपछि मेजर जेनरल आरोन हालिभा पदबाट हट्नु हुनेछ।

एउटा पत्रमा हालिभाले आफ्नो नेतृत्वमा रहेको निर्देशनालयले दिइएको जिम्मेवारी यथोचित वहन गर्न नसकेको स्वीकार गर्नुभएको छ।

अक्टोबर ७ का दिन सयौँ लडाकुहरू गाजास्थित सीमाको तारबार नाघेर इजरायलभित्र छिरेको भन्ने सूचनालाई इजरायली सैन्य र गुप्तचर अधिकारीहरूले बेवास्ता गरेका थिए।

इजरायलको इतिहासमा भएको उक्त भयानक आक्रमणमा केही विदेशीसहित झन्डै १ हजार २ सय जनाको ज्यान गएको थियो। ज्यान गुमाउनेमध्ये केही नेपाली विद्यार्थी पनि थिए।

आक्रमणपछि हमासका लडाकुहरूले आफूसँगै २ सय ५३ जनालाई बन्धक बनाएर लगेका थिए।

उक्त अप्रत्याशित घटनापछि इजरायलले हमासलाई सखाप पार्ने उद्घोष गर्दै गाजामा सैन्य कारबाही थालेको थियो।

इजरायली आक्रमणमा परी गाजामा अहिलेसम्म ३४ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उसका अनुसार मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्।

युद्धका कारण गाजामा भोकमरी निम्तिन सक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घ र अन्य दाताहरूले दिँदै आएका छन्।

Share Now