Prakash Adhikari June 3, 2024

गण्डकी, २१ जेठ : पर्यटकीय राजधानी पोखरामा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

मन्त्री अर्यालले रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेकाको मिलनबिन्दुका रुपमा मेलाको भूमिका रहने बताउनुभयो । “रोजगारीका अवसर सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धन गर्नेलगायत उद्देश्यसहित श्रमाधान रोजगार मेलाको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “नेपालको श्रम बजार र रोजगारबारे जानकारी तथा परामर्श लिने थलोका रुपमा यो मेलालाई लिन सकिन्छ ।”

मन्त्री अर्यालले कामको खोजीमा विदेश गएका युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो । “देशमा रोजगारी दिन चाहाने संस्था÷कम्पनी धेरै हुनुहुन्छ, रोजगारको खोजीमा रहेका युवा पुस्तालाई त्यहाँसम्म जोड्न यो मेलाले महत्वपूर्ण सहयोग पु-याउनेछ”, उहाँले भन्नुभयो ।

मन्त्री अर्यालले श्रम क्षेत्रका समस्या समाधानका लागि मन्त्रालयमा स्तरीय श्रमाधान कल सेन्टर स्थापना गरीएको जानकारी दिनुभयो । पैसा नलाग्ने फोन नम्बर ११४१ फोन गरेर जोकोहीले आफ्ना समस्या, सुझाव तथा गुनासा राख्न सक्ने उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले रोजगार अभाव मुलुकको प्रमुख समस्या रहेको बताउनुभयो ।

“रोजगारीका समस्यालाई सही ढङ्गले समाधान गर्न नसकेका कारण राजनीतिक प्रणाली र व्यवस्थामाथि नै टिकाटिप्पणी भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेको मुख्य चुनौती भनेको श्रमशक्ति र रोजगारको व्यवस्थापन हो ।” मुख्यमन्त्री पाण्डेले एकैसाथ ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सक्ने निजी क्षेत्रलाई लगानीमा आकर्षण गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगारदाता र रोजगार गर्न चाहानेहरुबीचमा परामर्श र सूचना आदानप्रदानका लागि मेला महत्वपूर्ण रहने बताउनुभयो । उत्पादन, श्रम र रोजगारमा निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । मेलामा ४१ वटा रोजगारदाता संस्था/कम्पनीका कक्षहरु रहेका छन् । मेला अवलोकनका लागि युवा, विद्यार्थीलगायतको भीड लागेको छ । मेलामा रोजगारीको खोजीमा रहेकाहरुको सीप प्रवद्र्धनका लागि कार्यशाला र ‘नेटवर्किङ’ सत्रहरु सञ्चालन गरिने जनाइएको छ । मेलाले सार्वजनिक-निजी साझेदारीको अभिवृद्धि गर्न टेवा पु-याउने विश्वास लिइएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा आयोजित उक्त मेला मङ्गलबारसम्म सञ्चालन हुनेछ । मेलामा उद्योग, व्यापार, पर्यटनलगायत विषयमा समूहगत छलफलसमेत आयोजना गरिएको छ । छलफलमा सम्बन्धित क्षेत्रका विज्ञसहित रोजगारदाता संस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् । यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला गण्डकीसहित सातै प्रदेशमा सञ्चालन हुनेछ ।

Share Now