काठमाडौँ, १७ असारः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्बभन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ ।
विस २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धानका क्रममा विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत हालसम्म रु ३१ अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ मूल्य बराबरको सुन तस्करी भएको पाइएको प्रहरीले जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सिआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले ६० किलोग्राम सुन तस्करीको अनुसन्धानका क्रममा थप २० जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
“विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत इलेक्ट्रोनिक मालवस्तुमा लुकाई छिपाई दुई हजार ८३१ किलो ८९ ग्राम र ब्रेक सु मा लुकाएर ३६२ किलो ७७८ ग्राम सुन तस्करी भएको अनुसन्धानमा देखिएको छ”, ब्यूरो प्रमुख ज्ञवालीले भन्नुभयो ।
प्रहरीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालिमार्फत एक हजार ३०३ किलोग्राम ९६५ ग्राम, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६३२ किलोग्राम ७९५ ग्राम, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७१६ किलोग्राम ८३ ग्राम, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि मार्फत १७० किलोग्राम आठ ग्राम र रेडी ट्रेड प्रालिमार्फत सात किलोग्राम पाँच ग्राम अवैध सुन नेपाल भित्रिएको थियो । ब्रेक सु मार्फत यसअघि ३६२ किलोग्राम ७७८ ग्राम अवैध सुन भित्रिएको थियो ।
अवैध रुपमा भित्रिएका सुनको भुक्तानी प्रक्रियामा भने नेपालका दुईवटा पेमेन्ट गेटवेसमेत सङ्लग्न रहेको खुल्न आएको छ । ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
विस २०८० वैशाख १२ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पे वेल को वालेटमा रु ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ कारोबार भएको र सजिलो पेको वालेटमार्फत २०७८ जेठदेखि २०८१ जेठसम्म रु ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ कारोबार भएको पाइएको छ ।
सिआईबीले उक्त प्रकरणमा ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडमा सङ्लग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी आठ जनालाई पक्राउ समेत गरेको छ ।
ब्रेक सुमा लुकाएर ल्याएको सुनको परिमाण ३६२ किलोग्राम ७७८ ग्राम रहेको देखिएको भन्दै सीआईबीले विस २०८० भदौ ३१ गते २९ जनाउपर अभियोगपत्र दायर गरेको थियो । उनीहरुबाट रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ मागदाबी गरिएको थियो ।
सीआईबीले पक्राउ गरेका २९ जनामध्ये २४ जना अभियुक्तहरू हाल पुर्पक्षका लागि थुनामा छन् । यस्तै, सोही सुन प्रकरणमा दोस्रो चरणमा २० जनालाई पक्राउ गरेको छ ।
वैशाखबाट शुरु गरिएको दोस्रो चरणको अनुसन्धानमा १४ नेपाली, दुई चिनियाँ र चार भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेका भारतीय नागरिकमा बैजनाथ महादत्त गोयल, सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे र प्रशान्त गणेश बजबलकर रहेका छन् । यस्तै चिनियाँ नागरिकमा सोनाम गुरुङ भन्ने सराव ग्याल्मो र जेन्गा जाग्सी रहेका छन् ।
पक्राउ पर्ने नेपालीमा पर्सा वीरगन्ज-११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक-५ का राजु खत्री, मध्यपुर-१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल-४ का कान्छा लामा, नमोबुद्ध-१० का भीमप्रसाद तिमल्सिना, भुम्लु-१ का रूपक भण्डारी, काठमाडौँ महानगर-७ का प्रज्ज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती-१ का लालबहादुर कुँवर, बारा जितपुर-१९ का अरुणकुमार यादव छन् ।
पक्राउ परेकाविरुद्ध सङ्गठित अपराध, सुनको चोरीपैठारी र केहीलाई बैकिङ कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा पठाउने तयारी भइरहेको सिआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
काठमाडौँ, १५ जेठः सरकार आगामी आर्थिक वर्षको लागि श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री […]
-प्रगति ढकाल/रासस काठमाडौँ, ३० जेठः सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट–एनक्याप)’ […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]