Prakash Adhikari May 30, 2018

काठमाडौ, १६ जेठ। काठमाण्डूको पूर्वी नाका हुँदै तराई जोड्ने बीपी राजमार्गमा सरकारले सोमवारबाट लागु हुने गरी ठूला सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध फुकुवा गरिदिएपछि उक्त सडकले भार थेग्न नसक्ने र दुर्घटना बढ्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

सरकारी अधिकारीहरूले चाहिँ नियम अनुसार नै सञ्चालन अनुमति दिएको बताउँदै सडकको क्षमतामा कुनै असर नपर्ने र स्थानीयवासी लाभान्वित हुने बताएका छन्।

जापान सरकारले २० वर्ष लगाएर निर्माण गरेको उक्त दुई लेनको धेरै ठाँउमा घुमाउरो रहेको १ सय ६० किलो मिटर लामो राजमार्गले ठूला गाडीको भार थेग्न नसक्ने भन्दै विगतमा त्यस्ता गाडी चलाउन प्रतिबन्धित थियो।

उक्त सडकको काभ्रे खण्डमा मात्रै बर्सेनि करिब ५० वटा सडक दुर्घटना हुने गरेको र त्यो नरोकिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ।

दुर्घटना
तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा भएका ३५ गाडी दुर्घटनामा ३४ जनाको ज्यान गइसकेको छ।

 

राजमार्ग

ठूला गाडी सञ्चालन भएपछि स्थिति झन बिग्रने चिन्ता काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीको छ।

यसले सडक बिग्रिने र दुर्घटना हुने सम्भावना झन् बढ्नेछ।
महेन्द्रप्रसाद मरासिनी, प्रहरी नायव उपरिक्षक

 

निजी तथा १८ सीटसम्मको सानो गाडीलाई मात्र सञ्चालनको अनुमति दिइएको बीपी राजमार्गमा चालकसहित ३६ सिटसम्मको ठूलो गाडी गुडाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमवार स्विकृति दिएको छ।

यातायात व्यवस्था विभागका अनुसार उच्चस्तरीय समितिको प्रतिवेदनको आधारमा दिइएको उक्त स्विकृति नियमानुसार नै छ।

बचाउ
विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले भने, “गत वर्ष गठित एउटा उच्चस्तरीय कमिटीले त्यहाँ ३५ सीटसम्मको गाडी गुड्न सक्ने प्रतिवेदन दिएको छ। त्यसमा राजमार्ग निर्माण गर्ने कम्पनीको पनि डिजाइन पनि अध्ययन गरिएको छ। त्यो रिपोर्टको आधारमा अहिले निर्णय भएको हो। ”

गत वर्ष गठित एउटा उच्चस्तरीय कमिटीले त्यहाँ ३५ सीटसम्मको गाडी गुड्न सक्ने प्रतिवेदन दिएको छ। त्यसैको आधारमा अहिले निर्णय भएको हो
प्रेमकुमार सिंह, निमित्त महानिर्देशक, यातायत व्यवस्था विभाग

‍ठूला सवारी सञ्चालन नहुँदा स्थानीय बासिन्दाहरुले लाभ लिन नसकेको भन्दै उक्त राजमार्ग छुने स्थानीय तहका अधिकारीहरूले पनि दबाब दिएको यातायात व्यवस्था विभागको भनाइ छ।

निमित्त महानिर्देशक सिंह भोलिका दिनमा सवारी चाप निकै बढेमा पुनर्विचार गर्न सकिने बताउँछन् ।

गत वर्ष सुक्खा पहिरोका कारण अवरुद्ध भएको तराई जोड्ने उक्त वैकल्पिक राजमार्गमा ठूला गाडी नचलाउन, सवारी साधनको गति नियन्त्रण गर्न जापानी सहयोग निकाय जाइकाले पटक-पटक आग्रह गर्दै आएको थियो।

(बीबीसी)

Share Now

Leave a comment.