Prakash Adhikari July 4, 2024

काठमाडौं, २० आषाढ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि बाहिरिदै छ । सो पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा रहेका चारै मन्त्रीले आज राजीनामा दिँने भएका छन्।

रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद रहनुभएको छ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले पार्टीका प्रतिनिधिहरुले आजै सरकार छाड्न लागेको जानकारी दिनुभएको छ।

 

‘आज हाम्रै चारै मन्त्रीहरूले राजीनामा दिनुहुन्छ’, उहाले भन्नुभएको छ, ‘सरकार परिवर्तन भइसक्यो, अब किन बस्ने?’

यसअघि बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन लगाएको थियो ।

नेकपा माओवादी केन्द्रसँगको गठबन्धन टुटाउदै नेकपा एमालेले गत सोमबार मध्यराति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो।

एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेको छ।

पार्टीभित्र आन्तरिक विवाद चर्किएकै बेला सत्ता गठबन्धन परिवर्तन भएपछि रास्वपा पनि सरकारबाट बाहिरिने भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा बन्ने भावि सरकारमा आफू सामेल नहुने प्रष्ट पारिसकेको छ।

Share Now