डसेलडर्फ(जर्मनी), २३ आषाढ(एजेन्सी) । इङ्ल्यान्ड युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डले सेमिफाइनल यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १ १ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो ।
पेनाल्टी शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए । अन्य सबै स्विस खेलाडीले भने पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । यता इङ्ल्यान्डका कुनै पेनाल्टी प्रहार गर्ने खेलाडीले अवसरलाई गुम्न दिएनन् । सबै पेनाल्टीलाई गोलमा परिणत गरे।
त्यसअघि निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । रुबेन भार्गासको क्रस इंग्लिश डिफेन्डर जोन स्टोन्सले क्लियर गर्न नसकेपछि फार पोस्टमा एम्बोलोले सहजै गोल गर्न सफल रहेका थिए ।
८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । डेकलान राइसको पास लिएर बक्स बाहिरबाट बुकायो साकाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
इङ्ल्यान्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्स विरुद्ध खेल्नेछ । सो खेल पनि गए राति सम्पन्न भएको थियो ।
अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने पक्का भइसकेको छ ।


















