Prakash Adhikari July 7, 2024

काठमाडौं, २३ आषाढ । शनिवार परेको बर्षाको कारण देशभरका खोलानाला र नदीहरुमा पानीको सतह बढेको छ । कोशी नदीको पानीको सतह बढेको छ । नारायणी नदी बस्तीमा परेको छ । गण्डकी सेती र पश्चिम सेती किनाराका परिवारलाई सुरक्षित स्थानमा सार्नुपरेको छ।

पश्चिम सेतीमा बाढीः ६० घरपरिवार सुरक्षित स्थानमा

पश्चिम सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।”

नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन् । अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताउनुभयो ।

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ ।

सेती नदीको बाढीले यहाँ बर्सेनि आतङ्क मच्चाउने गरेको छ । यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो । लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

नारायणीको बाढी बस्तीमा पस्यो

नवलपुर (नवलपरासी) । नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।

बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो । यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताउनुभयो । “यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ”, उहाँले भन्नुभयो, “बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ ।”

बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताउनुभयो ।

निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ । देवघाटमा शनिबार दिउँसो ४ः४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ । सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ ।

बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार शनिवार दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ । एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिनुभयो ।

नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो । बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ । विशेषगरी गैँडाकोट नगरपालिकाको वडा नं २, ६ तथा मध्यविन्दु नगरपालिकाको वडा नं २, ३ मा बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

पानीको सतह बढेपछि सेती नदी किनारका पाँच परिवार विस्थापित

पोखरा(कास्की) । सेती नदीमा पानीको सतह बढेपछि पोखरा–१४ को गोष्टी बस्ती जोखिममा परेको छ । नदीमा पानीको सतह बढेर जोखिम बढेपछि नदी किनारमा बसोबास गर्ने पाँच परिवार विस्थापित भएका छन् ।

अविरल वर्षाका कारण सेतीमा पानीको सतह बढेर बस्ती जोखिम पसेपछि यहाँका पाँच परिवारका २३ जनालाई आज दिउँसो सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गरिरहेका विष्णुमाया सुनुवारको परिवारका पाँच, डोम्मा शेर्पाका सात, सुकदेव गुरुङका चार, डावा शेर्पाका चार र काजी शेर्पाको परिवार तीन जनालाई टोल विकास संस्थाको भवनमा सारिएको शर्माले बताउनुभयो ।

यसैगरी, अविरल वर्षाका कारण पहिरो जाँदा आज दिउँसो पोखरा महानगरपालिका–३२ स्थित राजन विकको एकतले घरमा क्षति पुगेको छ । प्रहरीका अनुसार विकको घरको भान्छा कोठा पहिराले भत्किएको छ ।

वर्षाका कारण पृथ्वीराजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रुहरू समस्यामा परेका छन् ।

राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो

खजुरा (बाँके) । बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ । शनिवार अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ । लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो ।

पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । बाढी बढेपछि डुडुवा गाउँपालिका–१ चौफेरीका ५० जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार करिब एक सयजना परिवारलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ ।

नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बन्न सूचित गरिएको छ । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्नेजस्ता कार्य नगर्न आग्रह गरिएको छ ।

डुबानको जोखिम बढेकाले उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । राप्तीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गङ्गापुर, कुदरबेटवा, सोनवर्षालगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका–१ का विभिन्न गाउँमा बाढी पस्न थालेको स्थानीयले बताएका छन् । बाघखोर गाउँका १० घरमा राप्तीको पानी पसेको बताइएको छ ।

सप्तकोशीका ४१ ढोका खोलिए

इनरुवा (सुनसरी) । वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ ।

लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

Share Now