Prakash Adhikari July 14, 2024

ईश्वर जोशी
सिमलताल(चितवन), ३० आषाढ (बीबीसी) । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा रहेका आफ्ना चार आफन्त त्रिशूली नदीमा खसेको बसमा परेको शङ्काले पिरोलिएका दयाशङ्करप्रसाद राम चितवनको सिमताल आइपुग्नुभएको छ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका उहाँका आफन्तहरू स्वास्थ्य परीक्षण गरेर काठमाडौबाट गौर जाने बसमा चढेको थिए। तर शुक्रवार बिहानसम्म पनि घर नपुगेपछि रामले काठमाकोडौंको काउन्टरमा फोन गर्नुभयो। सिमलतालमा पहिरो झरेर दुइटा बस त्रिशूलीमा खसेको र तीमध्य एउटा काठमाडौंबाट रौतहटका लागि हिँडेको समाचार सुन्नासाथ परिवार चिन्तामा पर्‍यो।

काठमाडौंको टिकट काउन्टरले उहाँले सोधेका चारै जना गौर हिँडेको गणपति ट्राभल्सको बसमा चढेको पुष्टि गर्‍यो।

त्यसपछि उहाँलाई त्रिशूली नदीमा खसेको एउटा बसमा आफ्ना चार नातेदार पनि परेको पक्का भयो।

“काउन्टरमा सोधपुछ गरेपछि घटनास्थलमा जानू भन्यो,” शनिवार सिमलतालमा भेटिएका दयाशङ्कर प्रसाद रामले भन्नुभयो।

“उहाँहरू सबै विदेश जानका लागि काठमाडौंमा मेडिकल गरेर गौर फर्किँदै हुनुहुन्थ्यो।”

शनिवार त्रिशूलीमा पानीको सतह केही घटेका कारण हराइरहेका मानिसको खोजीमा जुटेका उद्धारकर्मीहरू केही आशावादी देखिन्थे। तर पानी धमिलो र नदीको प्रवाह तीव्र भएका कारण नदीमा बस फेला पार्न सकेका छैनन्।

घटनास्थलबाट झन्डै ५० किलोमिटर तल गोलाघाटमा एक जनाको शव फेला परेको छ। तर अरू यात्रुको अवस्था अझै अज्ञात छ।

दयाशङ्कर प्रसाद रामजस्तै नदीमा हराइरहेका कैयौँ मानिसका कैयौँ आफन्त घटनास्थलमा भेला भएका छन्।

छोरीको विवाह रोकेर छोरा खोज्न त्रिशूलीमा

बहिनीको विवाहका लागि काठमाडौंबाट घर फर्कँदै गरेका आफ्ना छोरा त्रिशूलीमा बेपत्ता भएपछि रौतहटका बुधन दासको परिवारको शोकमग्न छ।

त्रिशूलीमा खसेको बसमा आफ्ना पनि छोरा परेको खबर थाहा पाएपछि दास सोधखोज गर्न दुर्घटनास्थल आइपुग्नुभएको छ।

“बहिनीको बिहेका लागि आउँदै थियो। हिजो ११ बजे घटनाबारे थाहा पाएँ,” उहाँले शनिवार भन्नुभयो।

दासका अनुसार उहाँकी छोरीको विवाह शनिवारका लागि तय भएको थियो।

कलैयाका सन्सार मन्सुर पनि त्रिशूलीमा हराइरहेका आफ्ना मामाका छोराको खोजीमा भइरहेको प्रगतिबारे बुझ्न सिमलताल आइपुग्नुभएको छ।

तर उचित उपकरणको अभावमा खोजी कार्यमा प्रगति नभएको देखेर निराश मन्सुरले बीबीसीसँग भन्नुभयो, “सेना र प्रहरीले आफ्नो ज्यान लगाएर प्रयास गरेका गर्नुभएको तर उहाँहरूलाई उपकरणको अभाव छ,” उहाँले भन्नुभयो

“आज हाम्रो घरको मान्छे बितेको छ, भोलि अरूलाई पनि यस्तो हुन सक्छ। सामान बाहिरबाट मगाएर भए पनि उहाँहरूलाई उपलब्ध गराउनुपर्‍यो। भोलि अर्को परिवारको मान्छे पर्‍यो भने त्यस बेला सामग्री खोज्न नपरोस्।”

प्रहरीले हराइरहेका अधिकांश मानिसहरूका आफन्त सम्पर्कमा आएको जनाएको छ।

आफन्तहरू हराइरहेका मानिसको राज्यप्रतिको गुनासो स्वाभाविक भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो।

उहाँले नदीको तीव्र प्रवाह, पानीको तह र धमिलोपनका कारण खोजीकार्यमा प्रभाव परेको जनाउनुभयो।

“सशस्त्र प्रहरीको कुरिनटारको तालिम स्कुल र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण नेपालको उच्च जनशक्ति र प्रविधि भएको बेस र गण हो,” प्रजिअ यादवले भन्नुभयो।

“यस अर्थमा यसभन्दा थप जनशक्ति र प्रविधिको कुरा गर्नुपर्दाखेरि नेपालभन्दा बाहिरबाट झिकाउनेबाहेक अरू विकल्प खासै देखिएको छैन।”

यद्यपि उहाँले खोजी अभियानमा शनिवारदेखि नयाँ रणनीति अवलम्बन गरिएको बताउनुभयो।

यादवका अनुसार दुवै बसका चलानका आधारमा ती बसमा ५१ जना चढेको बताइएको तर अरू यात्रु पनि सवार भएको हुन सक्ने आशङ्का छ।

“त्यस्ता विवरण पनि हामी प्राप्त गर्दै छौँ “, उहाँले भन्नुभयो।

उहाँका अनुसार एक व्यक्तिले आफ्ना एक आफन्त पनि बसमा चढेको तर उहाँको नाम चलानमा नदेखिएको बताउनुभएको छ।

राजनीतिक नेतृत्वप्रति गुनासो

रौतहटको बहुदीमाई नगरपालिकाका मनोजप्रसाद जयसवाल पनि काकाका छोराको खोजीबारे बुझ्न त्रिशूली नदी किनारमा आइपुग्नुभयो।

सुरक्षाकर्मीहरूले प्रयास गरिरहेको भए पनि राजनीतिक नेतृत्वले खोजी र उद्धारमा उल्लेख्य चासो नदेखाएकोमा आफ्नो चित्त दुखेको उहाँले बताउनुभयो।

“नेताहरू कुर्सीको छलफल गर्दै छन्, यहाँ जनता मर्दै छन्। के भइरहेको छ, केही वास्तै छैन,” उहाँले भन्नुभयो।

साथीले काठमाडौंमा तरकारीको व्यापार गर्ने आफ्ना भाइ त्रिशूली बस दुर्घटनामा परेको खबर गरेपछि चितवनमा बस्दै आएका भारतका नरेश साह पनि घटनास्थलमा पुग्नुभएको छ।

“सरकारले क्रेन लगाएर हुन्छ कि, के गरेर हुन्छ खोजी गर्नुपर्‍यो नि,” खोजीमा प्रगति नभएकोमा गुनासो गर्दै साहले भन्नुभयो।

प्रमुख जिल्ला अधिकारी यादवले उपलब्ध भएसम्मका उपकरणहरू प्रयोग गरेर खोजी कार्य भइरहेको बताउनुभयो।

“आज हामीले हिजो खोजिरहेकोभन्दा अलि तलतिरको ठाउँमा खोजीलाई बिस्तार गरेका छौँ। राप्ती खोला मिसिने दोभानसम्म नदीको दुवैतर्फ खोजी भइरहेको छ,” उहाँले भन्नुभयो।

गोलाघाटनजिकै शनिवार एक यात्रुको शव फेला परेको र उनको सनाखत भइसकेको जानकारी यादवले दिनुभयो।

घटनास्थलमा पुगेका एक युवकले सरकारले विमान दुर्घटना हुँदा छानबिन समिति बनाउने गरे पनि बस दुर्घटनामा कैयौँ मानिसहरू हराइरहँदा पनि राजनीतिक नेतृत्वले पहल नगरेको बताउनुभयो।

Share Now