मायमी(फ्लेरिडा,संयुक्त राज्य अमेरिका), ३१ आषाढ (एजेन्सी)। अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ ।
लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले प्रतिद्धन्द्धी कोलम्बियालाई अतिरिक्त समयमा १ ० ले पराजित गरेको हो ।
खेलको १ सय १२औं मिनेटमा अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले गोल गरेका थिए । ९७ औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् ।
लिसान्द्रो मार्टिनेजले मैदानको मध्यभागमा गरेको उत्कृष्ट ट्याकलपछि प्राप्त मौकामा उनले गोल गरेका थिए ।
खेलका क्रममा ६६औं मिनेटमा अर्जेन्टिनका कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोट लागेको थियो । दायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेपछि उनले ६६ औं मिनेटमा मैदान छाडेका हुन् । खेल गुमाएपछि मेस्सी निक्कै बेर रोएका थिए।
सन्१९९४ पछि लामो समय कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले पछिल्लो ३ वर्षमा लगातार तीन उपाधि जितेको छ । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि जितेको थियो । यसपटक कोपा अमेरिकाको उपाधि हासिल गर्यो ।
फाइनलमा गोल गर्ने लौतारोले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने ।
फाइनल खेल हेर्न केहि दर्शक विना टिकट रंगशाला प्रवेश गरेपछि भएको भागदौडमा केही दर्शक घाइते पनि भएका थिए । उनीहरुले अमेरिका फुटबल जस्ता अन्यन्त लाकप्रिय खेलका महाद्धीपस्तरीय, क्षेत्रीय र विश्व स्तरीय खेलहरु सञ्चालन गर्न सुरक्षा दिन सक्षम भईनसके भन्दै अमेरिका को आलोचना पनि गरेका छन् । यही लफडाले गर्दा आजको फाइनल खेल निर्धारित समय भन्दा ४५ मिनेट ढिला सुरु भएको थियो।


















