Prakash Adhikari June 9, 2018

काठमाडौं,२६ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डको महत्वाकांक्षाले मुलुकमा दुर्घटना निम्तिन सक्ने जोखिम रहेको बताएका छन् ।

शनिवार भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानद्धारा काठमाडौंमा आयोजित प्राध्यापक पिताम्बर दाहाल लिखित ‘मेरा रिमरिमे सम्झना ‘ नामक पुस्तक लोकापर्ण समारोहमा उनले सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस प्रतिपक्षमा रहेर पनि मुलुकमा शान्तिको स्थापना, राजनीतिक स्थिरता सहित मुलुुकको समुन्नति र समृद्धिका लागि चालिने हरेक कदममा सरकारलाई साथ दिन तत्पर भएको बताउदै भने,’ तर सत्तापक्षकै अध्यक्षमा अस्वभाविक महत्वाकांक्षा पलाएको छ । उहाँले पोखरामा गएर कार्यकारी राष्टपतिको कुरा उठाउनु भएको छ । संसदमा सहज बहुमत हुँदाहुँदै दुई तिहाई पुर्याउन कोशिस गरिदै छ । यो बनमा बाघ कराउने र घरमा सिंगारी हराउने उखानसंग मिल्दैछ ।’

वरिष्ठ नेता पौडेले यो विषय केही दिन पूर्व राष्टपतिसंगको भेटमा समेत खुलेर राखिएको पनि बताए । उनका अनुसार केही दिन पहिले राष्टपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल तथा सत्ता पक्षबाट नेकपाका अध्यक्ष द्धय केपी शर्मा ओली र प्रचण्डसंग सामूहिक भेट गरेकी थिइन । भेटमा राष्टिय भाषाको रुपमा स्थापित भैसकेको नेपाली भाषालाई प्रबर्धन गर्ने, देशमा विप्लव र अन्य समूहबाट सिर्जित समस्याको समाधान गर्ने वर्तमान संविधानलाई कार्यान्वयन गर्ने र देशलाई समृद्धिको मार्गमा लैजाने विषयमा कुराकानी भएको थियो ।

कार्यक्रममा नेता पौडेलले ंसंघीय लोकतान्त्रिक गणतन्त्रमा जाने पार्टीको निर्णय वी.पी.को विचारभन्दा बाहिर नभएको तर्क दिएका थिए । उनले संविधानसभाबाट संविधान बनाउने उद्घोष नेपाली कांग्रेसले २००६ सालमा क्रान्तिको लागि आह्वान गर्दा नै गरेकोले संविधानसभा सम्मको यात्रामा कुनै प्रश्न उठाउने स्थान रहेको उल्लेख गर्दै भने वीपी स्वयंले राजाले प्रजातन्त्रलाई निषिद्ध गरेर जान्छन भने जनतालाई त्यस्तो राजाको आश्यकता पदैन भनेर बोल्नुभएको बताए।

कांग्रेस नेता पौडेलले गत वर्ष सम्पन्न भएका तीन तहको निर्वाचनमा नेपाली कांग्रेसको संगठनको पराजय भएको तर सिद्धान्तले जितेको बताए । उनले सबै राजनीतिक दलहरु संसदीय व्यवस्था अन्तरगत बालिग मताधिकारको आधारमा हने निर्वाचनमा आएर निर्वाचित प्रतिनिनिधिबाट सरकार बनाउने स्थितिमा पुग्नु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए ।

कार्यक्रममा उनीभन्दा पूर्व बोल्ने नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य देवेन्द्र नेपालीले राजतन्त्र उन्मुलन गर्ने निर्णय, दिल्लीमा भएको १२ बूँदे संझौता,धर्म निरपेक्षता र संघीयता जस्ता विषयमा चित्त नबुझेको हुनाले नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई, लौह पुरुष गणेशमान सिंहका धर्मपुत्र पीएल सिंह, खनुप रुदे रामबाबु प्रसाई सहित आफूले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेको र देश र प्रजातन्त्रको लागि नयाँ अभियान थाल्न बहस गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा पुस्तकका लेखक तथा  भद्र अवज्ञा आन्दोलनका बाल सत्याग्रही प्रा. पिताम्बर दाहालले लोकतान्त्रिक मूल्य,मान्यता,समर्पण र योगदानलाई विर्सेर रकम कलमका भरमा पार्टी चलाउन थालकोले निर्वाचनमा कांग्रेसको पराजय भएको बताएका थिए ।

उनका अनुसार भद्र अवज्ञा आन्दोलनमा बामपन्थी नेता हिरण्यलाल श्रेष्ठ र भगवानरत्न तुलाधर र श्रीरंग पाठक पनि बालसत्याग्रहीको रुपमा सहभागी हुँदा जेल परेका थिए । २०१७ साल पुस १ गते निर्वाचित सरकारलाई अपदस्थ गरी निर्वाचित संसदसमेत भंग गर्ने राजाको कदमका विरुद्ध साढे १२ बजेपछि उनको नेतृत्वमा जुलुस निस्केको थियो । शोभा शाहीको उत्तरपुस्तिका च्यात्ने हिम्मत हिरण्यलालले गरेका थिए ।

प्रा. दाहाल नेपाल विद्यार्थी संघका संस्थापक सदस्य पनि रहेका थिए । उनका अनुसार अहिलेका नेताहरु पद अर्थात सत्ता र भत्ताका लागि मात्र काम गर्ने भएकोले त्यागको भावना सकिदै गएको छ र संग्रहको लालच ज्यादा मुखरित भएको छ । यो नै नेपाली कांग्रेस कमजोर हुनुको कारण हो ।

कार्यक्रममा गीतकार यादव खरेलले पनि पुस्तकमा लेखकले आफ्ना कमजोरीलाई ढाकछोप गर्ने प्रयत्न नगरेको हुनाले पुस्तक पठनीय बनेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिहं केसी र वामपन्थी नेता हिरण्यलाल श्रेष्ठले पनि प्रा. दाहालको नेतृत्वकलाको बारेमा बोलेका थिए ।

कार्यक्रममा गायक उमा गुरुड.लाई भानुभक्त अयोध्यादेवी पुरस्कार र डिल्लीप्रसाद दाहाललाई अयोध्यादेवी स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम २०१५ सालको पहिलो संसदीय निर्वाचनमा पाल्पाबाट कम्युनिष्ट पार्टीका केशरजंग रायमाझीलाई पराजित गर्ने अच्युतराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share Now

Leave a comment.