
भारतीय फुटबल टोलीका कप्तान एवं कुशल खेलाडी सुनिल क्षेत्रीले ‘इन्टर्कन्टिनेन्टल कप’ को फाइनल खेलमा केन्याविरुद्ध दुई गोल गरेर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लियोनेल मेसीसँगको कीर्तिमान बराबर गरेका छन्।
अन्तर-महादेशीय खेल ‘इन्टर्कन्टिनेन्टल कप’को फाइनल खेलमा केन्याविरुद्ध दुई गोल गरेसँगै अन्तर्राष्ट्रिय फुटबलमा सुनिल क्षेत्रीले गरेको कुल गोलको संख्या अर्जेन्टिनाका प्रसिद्ध खेलाडी लियोनेल मेसीको ६४ गोलसँग बराबर हुन पुगेको छ।
भारत र केन्याबीच आइतवार भएको खेलमा क्षेत्रीले दुवै गोल मध्यान्तर अघि गरेका थिए।
त्यो खेलमा भारत केन्यालाई २-० ले पाराजित गर्दै इन्टर्कन्टिनेन्टल फुटबल कप जित्न सफल भयो।
सक्रिय खेलाडी
पछिल्लो दुई गोलपछि अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीहरूमाझ धेरै गोल गर्ने खेलाडीहरूमध्ये अब मेसीसँगै क्षेत्री पनि दोस्रो स्थानमा पुगेका छन्।
उनले १५० अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा कुल ८१ गोल गरिसकेका छन्।
हालसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा क्षेत्री र मेसी अहिले २१ औँ स्थानमा छन्।
यसअघि आइवरी कोस्टका डिडीएर ड्रोग्बाले १०४ खेलमा ६५ गोल गरेका थिए।
३३ वर्षिय क्षेत्रीको यो १०२औँ खेल थियो र यो अन्तर्राष्ट्रिय प्रतियोगिताअघि उनले ६२ अन्तर्राष्ट्रिय गोल गरिसकेका थिए।
उनले आइतवार केन्याविरुद्धको खेलमा आठौँ र २९ औँ मिनेटमा गोल गरेका थिए।
उनले सन् २००२ बाट फुटबलको करिअर शुरू गरेका थिए।
१७ वर्षको उमेरमा उनी मोहन बगान क्लबका लागि अनुबन्धित भएका थिए।
इन्टरकन्टिनेन्टल कपको उपाधि भारतलाई
कप्तान सुनिल क्षेत्रीले निर्णायक भूमिका खेल्दै दुई गोल गरेपछि भारतले घरमै सम्पन्न इन्टरकन्टिनेन्टल कपको उपाधि जित्न सफल भएको छ ।
मुम्बई फुटबल ऐरेनामा सम्पन्न फाइनल खेलमा भारतले केन्यालाई २–० ले हरायो ।
विजेता बनेको भारतले उपाधिसहित ५० हजार अमेरिकी डलर प्राप्त गरेको छ भने उपविजेता बनेको केन्याले २५ हजार डलरमा चित्त बुझाएको छ । प्रतियोगिताभरि कुल ८ गोल गरेका भारतीय कप्तान सुनिल क्षेत्री प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी समेत घोषित भए । उनले पुरस्कार स्वरुप ७५०० अमेरिकी डलर प्राप्त गरे ।
गत १ देखि १० जुनसम्म भएको प्रतियोगितामा भारतसहित केन्या, चाइनिज ताइपेई र न्युजिल्याण्ड गरी कुल चार टोलीहरुको सहभागिता रहेको थियो ।