Prakash Adhikari June 11, 2018

सिंगापुर,२८ जेठ(बीबीसी) । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले उनको देश उत्तर कोरियालाई परमाणु अस्त्र क्षमता त्यागेमा सुरक्षित रहने विशेष ग्यारेन्टी दिन तयार रहेको बताएका छन्।

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले, राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अनबीच मंगलवार सिंगापुरमा हुने शिखर बैठकको सफलताको ठूलो सम्भावना रहेको बताएका छन्।

उनले राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको पूर्ण, जाँच्न मिल्ने गरिको अनि नउल्ट्याइने किसिमको परमाणु निःशस्त्रीकरण चाहेको बताए।


ट्रम्प र किमले भेटघाट गर्ने होटल
विगतका जस्ता, उनकै शब्दमा, हलुका किसिमको सम्झौताप्रति राष्ट्रपति ट्रम्प पटक्कै इच्छुक नभएको पोम्पेओले बताएका छन्।

भेटघाट
राष्ट्रपति ट्रम्पले आत्मविश्वासपूर्ण तथा सकारात्मक रूपले मङ्गलवारको वार्तालाई लिएको पोम्पेओले बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्प तथा उत्तर कोरियाली नेता किमबीच मंगलवार हुने अभूतपूर्व शिखरबैठकपूर्व मतभिन्नताहरू कम गर्न अमेरिकी तथा उत्तर कोरियाली अधिकारीहरूले भेट गरिरहेका छन्।

ट्रम्पले, उनकै शब्दमा, वातावरण उत्साहले भरिएको बताएका छन्।

तर शिखरबैठक एउटा लामो प्रक्रियाको सुरुवात मात्र हुनसक्ने दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले बताएका छन्।

शैली
उत्तर कोरियास्थित सरकारी संचारमाध्यमले दुई नेताहरूले एउटा स्थायी तथा दीर्घकालीन शान्ति-स्थापक संयन्त्र तथा परमाणु निःशस्त्रीकरणबारे छलफल गर्ने बताएको छ।

उक्त प्रतिक्रियाले, अमेरिकाप्रतिको दशकौँ लामो कटुतापछि आफ्नो बोली र शैलीमा उत्तर कोरियाले परिवर्तन गरेको जनाउँछ।

कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको पहिलो भेटवार्ताका लागि ट्रम्प तथा किम आइतवार नै सिंगापुर पुगेका हुन्।

उत्तर कोरियाली क्षेप्यास्त्र परिक्षण
किमले परमाणु अस्त्रहरू परित्याग गर्ने एउटा प्रकिया सो बैठकले सुरु गराइदिने विश्वास ट्रम्पले गरेका छन्।

तर उत्तर कोरियाको दृष्टिकोण सधैँ अस्पष्टजस्तो देखिन्छ।

आत्मविश्वासपूर्ण
आइतवार साँझ ट्रम्प तथा किमसँग छुट्टा-छुट्टै भेट गरेका सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले उनीहरूबीच हुन लागेको शिखरबैठकपूर्व दुवै नेताहरू “एकदम आत्मविश्वासपूर्ण” देखिएको बीबीसीलाई बताए।

अमेरिकी राष्ट्रपति ट्रम्प तथा उत्तर कोरियाली नेता फरक-फरक होटलमा बसिरहेका छन्। तर दुवै होटल नजिक नै छन्।

मङ्गलवार दुई नेताहरूबीच चर्चित पर्यटकीय टापु सेन्टोसास्थित एउटा होटलमा शिखरबैठक हुँदैछ।

बालकृष्णनले उत्तर कोरियाली प्रतिनिधिमण्डलको आवासको खर्च सिंगापुरले बेहोर्ने पुष्टि गर्दै त्यो “सिंगापुरले दिएको आतिथ्य” भनी व्याख्या गरेका छन्।

Share Now

Leave a comment.