Prakash Adhikari June 11, 2018

 

रोम(इटाली),२९ जेठ (बीबीसी) । आप्रवासी बोकेको पानीजहाजलाई कता पठाइदिने भन्नेबारे इटली र माल्टाबीच विवाद भएपछि स्पेनले उक्त पानीजहाजलाई आफ्नो देशमा आउन दिने जनाएको छ।

स्पेनका भ्यालेन्सिया र बार्सिलोना बन्दरगाहले उक्त जर्मन जहाज एक्वारियसलाई आउन अनुमति दिने बताएका छन्।

यसअघि आप्रवासीहरुको उद्धार गर्ने उक्त पानीजहाजलाई इटलीका नयाँ आन्तरिक मामिलासम्बन्धी मन्त्रीले बन्दरगाहमा रोक्न अनुमति नदिएपछि झण्डै ६२९ जना आप्रवासीहरु भू-मध्य सागरमा अलपत्र परेका थिए।

सो जहाजलाई माल्टाले स्वीकार्नुपर्ने इटलीका मन्त्री माट्टेओले बताएका थिए।

 

स्वीकार्नुपर्ने

लिग नामक दक्षिणपन्थी राजनीतिक पार्टीका नेता समेत रहेका साल्भिनीले हालसालै सम्पन्न आम निर्वाचनमा आप्रवासनका विरुद्ध कडा कदम चाल्ने वाचा गरेका थिए।

उनले माल्टाले उक्त जहाज र आप्रवासी स्वीकार्नु पर्ने बताए।

तर माल्टाले जहाज इटलीको सामुद्रिक क्षेत्रमा रहेकोले उसैले स्वीकार्नुपर्ने बतायो।

उत्तर अफ्रिकाबाट यूरोप प्रवेश गर्ने आप्रवासीका लागि इटली मुख्य प्रवेशद्वार हो।

अरुले जे अह्रायो त्यही मान्न इटलीले छाडेको छ, यसपटक नाई भन्ने मानिसहरु छन्
माट्टेओ साल्भिनी, मन्त्री, आन्तरिक मामिला

 

बालबालिका
आप्रवासीहरुको उद्धार गर्ने एक जर्मन संस्थाका अनुसार इटलीबाट करिब ३५ नटिकल माइल र माल्टाबाट २७ नटीकल माइल टाढा रहेको उक्त यात्रुवाहक पानीजहाजलाई इटलीका सामुद्रिक उद्धार समन्वय केन्द्रले यथास्थानमा रोकिन भनेको छ।

उक्त संस्थाका अनुसार विभिन्न छवटा उद्धार कारवाही गरेर लिवियाको तटबाट ल्याइएका अधिकांश बालबालिका सहितका आप्रवासी सो जहाजमा छन्।

आप्रवासी र शरणार्थी

मन्त्री साल्भिनीले लिवियाबाट अर्को पानीजहाजले सयौं आप्रवासीहरुको उद्धार गरेर इटलीतर्फ आउँदै गरेको बताए।

“अरुले जे अह्रायो त्यही मान्न इटलीले छाडेको छ, यसपटक नाई भन्ने मानिसहरु छन्,” उनले ट्विटरमा भनेका छन्।

संयुक्त राष्ट्र संघ र यूरोपेली संघको आग्रहलाई समेत अस्वीकार गर्दै उनले आफ्नो देशमा आप्रवासी ओसार्ने पानीजहाजलाई प्रवेश नदिने निरन्तर बताउँदै आएका छन्।

मानवीय

शरणार्थी सम्बन्धी राष्ट्रसंघिय निकायका प्रतिनिधि भानसँ कोशटेलले मानवीय कारण पनि सो जहाजलाई तत्काल आउन अनुमति दिनु पर्ने बताए। बाँकी मुद्दा पछि छलफल गर्न सकिने उनको भनाइ छ।

जहाजमा रहेका आप्रवासीमध्ये एक सय २३ जना अभिभावकविहीन केटाकेटी, ११ जना बालबालिका र सात जना सुत्केरी महिलाहरु रहेका छन्।

जहाजमा रहेका एकजना पत्रकार एनेलिज बोर्जेसका अनुसार १३ वर्षदेखि १७ बर्षसम्मका केटाकेटीहरु इरिट्रिया, घाना, नाईजिरिया र सुडानबाट आएका छन्।

उनले बीबीसीलाई भनिन्, “अधिकांश आप्रवासीहरु बाहिर सुतिरहेका छन्। स्वाभाविक रुपले उनीहरु थकित छन् र उनीहरु उद्धार गरिनुपूर्वका २० देखि ३० घण्टासम्म समुद्र मै रहेका थिए।”

बोर्जेसका अनुसारले आप्रवासीहरुको अवस्था दयनीय छ र उनीहरुलाई अब के हुन्छ त्यो थाहा पाउन बाँकी नै छ।

Share Now

Leave a comment.