पेरिस(फ्रान्स)२८ जेठ (एजेन्सी) । चर्चित फरवार्ड करिम बेन्जेमा र फ्रान्स फुटबल टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्पसबीच विवादका कारण बेन्जेमालाई राष्ट्रिय टोलीमा नपारिएको भन्ने विवादबारे फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनले मुख खोलेका छन् ।
रियल मेड्रिडका लागि लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेर पनि बेन्जेमा यसपटक रुसमा हुने फिफा विश्वकपमा फ्रान्स राष्ट्रिय फुटबल टोलीमा पर्न सकेनन् । यस बिषयमा पत्रकार र सञ्चारमाध्यमहरु पनि राष्ट्रपति मेक्रोनको विचार जान्न उत्सुक भईरहेका छन् ।
बेन्जेमा फ्रान्सको राष्ट्रिय टोलीमा नपर्नुबारे जवाफ दिंदै मेक्रोनले भनेका छन् “म देशको राष्ट्रपति हो, फ्रान्स फुटबल टोलीको प्रशिक्षक होईन । म फुटबलको समर्थक हुँ र म आफ्नो विचार व्यक्त गर्न सक्छु । फ्रान्स फुटबलको जिम्मेवारी डिडिएर डेसच्याम्पससँग छ र मलाई उनीमाथि विश्वास छ ।
बेन्जेमा विश्वकप टोलीमा नपर्नुले रियल मेड्रिडमा उनको क्षमता परिवर्तन हुने होईन । स्पेनमा पनि राम्रैसँग जमिरहेका छन् । च्याम्पियन्स लिगमा पनि उनको राम्रो प्रदर्शन छ ।”
फ्रान्सले विश्वकप यात्रा शुरु गर्नुअघि आफ्नो अन्तिम अभ्यास खेलमा अमेरिकासँग १–१ गोलको बराबरी खेलेको थियो । रसिया विश्वकपतर्फ समूह सी मा रहेको फ्रान्सले आफ्नो पहिलो खेल १६ जुनका दिन अष्ट्रेलियासँग खेल्नेछ । त्यस्तै २१ जुनका दिन पेरुको सामना गर्नेछ भने २६ जुनका दिन समूह चरणको अन्तिम खेल डेनमार्कसँग खेल्नेछ ।