
सोची(रुस), २८ जेठ (एजेन्सी) । विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ। अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुगेको हो।
टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए।
सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका थिए।
विश्वकपमा लागि गएको ब्राजिलियन टोली सोचीको स्वीसटोल रिसोर्टमा बस्नेछ। पाँचतारे सो होटलमा एक रातको रूम चार्ज ६ सय पाउन्ड पर्छ।
पाँच पटकको विश्वविजेता ब्राजिललाई यसपालि उपाधिको बलियो दाबेदार हो। २०१४ मा जर्मनीसँग सेमिफाइनलमा ७(१ले पराजित भएपछि आफ्नो भूमिमा छैठौं पटक विश्वकप जित्ने सपना चकनाचूर भएको ब्राजिलले यो पटक जित्छ भन्ने धेरैलाई लाग्छ।
विश्व विजय गर्न निस्केका जर्मनीका हिटलर र फ्रान्सका नेपोलियनका अजेय सेनाजस्तै ती देशका फुटबल टोली पनि रूसमा असफल भए त झन् ब्राजिलको सम्भावना अझै बढ्नेछ। त्यसका आधार पनि छन्।
कोलम्बियासँगको क्वार्टरफाइनल खेलमा नेयमार घाइते भएपछि जर्मनीसँग लज्जास्पद हार बेहोरेको ब्राजिलको अहिलेको टोली २०१४ भन्दा बलियो छ।
रियल मेड्रिडबाट खेल्ने क्यासेमिरो र बार्सिलोनाका फिलिपे काउटिन्होजस्ता राम्रा खेलाडी ब्राजिलको मिडफिल्डमा थपिएका छन्।
सबैभन्दा ठूलो कुरा तीन महिना चोटका कारणले मैदान बाहिर रहेका नेयमारको बोझ कम गर्न यसपालि युवा स्ट्राइकर ग्याब्रियल जिजस टोलीमा छन्।
दुई वर्षअघि विश्वकप छनोट चरणका एक९तिहाइ खेलहरू सकिँदा ब्राजिल दक्षिण अमेरिकामा छैठौं स्थान थियो। त्यही बेला टिटे ब्राजिलका नयाँ प्रशिक्षक बने। त्यसयता ब्राजिलको खेलमा ठूलो सुधार आएको छ। टिटेले नै १९ वर्षीय जिजसलाई टोलीमा मौका दिए।
राष्ट्रिय टोलीबाट जिजसले १६ खेलमा ९ गोल गरेका छन्।
ब्राजिलका समर्थकलाई चाहिएजस्तो आक्रामक खेले पनि टिटेको टोली डिफेन्समा पनि बलियो छ।