Prakash Adhikari June 12, 2018

काठमाडौं,२९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गरेका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले जनताका दैनिक उपभोग्य वस्तुमा महंगी बढाएर समृद्धि नआउने बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले देखाएको व्यवहारले सरकार राष्ट्रवादी नभएको आरोप लगाउँदै सभापति देउवाले प्रश्न गरे, ‘पहिले अरुण तेस्रो जलविद्युत परियोजना हुन नदिने अहिले त्यही परियोजना भारतलाई बोलाएर उद्घाटन गर्न लगाउने, यो कस्तो राष्ट्रवाद हो ?’

आफूलाई गाली गरेर पार्टी बलियो नहुने भन्दै उनले मुलुकमा देखिएको चुनौतीको सामना गर्न एकढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्ने धारणा राखे । पार्टी विधान वा सहमति अनुसार चल्नुपर्ने बताउँदै कांग्रेस सभापति देउवाले भने, ‘आफूलाई आवश्यक परे सहमतिअनुसार भन्ने आवश्यक नभए विधानअनुसार चल्नुपर्छ भन्नु हुँदैन ।’

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै पहलमा ट्रेड युनियन कांग्रेसका धेरै माग संविधानमा लिपिबद्ध भएको बताउँदै सबैको सहभागिता हुने गरी राष्ट्रिय श्रम आयोग गठन हुनुपर्ने माग गरे ।

सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाका सम्बन्धमा सरकारमा सहभागी दलहरुले गरेको व्यख्याको विरोध गर्दै वरिष्ठ नेता पौडेलले त्यस विरुद्ध कांग्रेसले सशक्त प्रतिवाद गर्ने उदघोष गरे ।

सरकारले विभिन्न कानुनका नाममा ट्रेड युनियनका अधिकार माथि धावा बोल्न सक्ने आशंका व्यक्त गर्दै उनले त्यस्तो अवस्था आउन नदिन नेपाल ट्रेड युनियन काँग्रेसलाई सजग हुन सुझाव दिए । पार्टीमा एकता कायम गर्न न्याय, निश्पक्षता र पारदर्शी मूल्यांकनको व्यवस्था हुनुपर्ने उनले बताए ।

उपसभापति विमलेन्द्र निधिले वर्तमान अवस्थामा नेपाल ट्रेड युनियन कांग्रेसमाथि श्रमिकका हकहितको प्रवद्र्धन गर्ने र सरकारले श्रमिकका अधिकारमाथि गर्नसक्ने कटौतीविरुद्ध संघर्ष गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी देखिएको बताए ।

महामन्त्री डा शशांक कोइरालाले कांग्रेसमा एकता कायम गर्न पार्टीभित्रका तिक्तता मेटेर अघि बढ्न नेतृत्वलाई सुझाव दिँदै त्यसका लागि आफू हैसियतअनुसार जिम्मेवारी निर्वाह गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले स्वतन्त्र न्यायापालिकाको आर्दशअनुसार न्यायाधीशले आफ्नो स्वाभिमान बचाउन दलका नेताका घर धाउन नहुने भन्दै सञ्चारमाध्यमले पनि सरकारका लगत कदम औँल्याएर विपक्षीको भूमिका खेल्न सक्नुपर्ने सुझाव दिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले विगतमा मुलुकका ठूला आन्दोलनमा तुलनात्मक रुपमा नेतृत्व विद्यार्थीहरुले गरेको स्मरण गर्दै आजको अवस्थामा श्रमिकको संख्या धेरै भएकाले श्रमिकले गर्नुपर्ने अवस्था आएको बताए ।

नेता गगनकुमार थापाले कांग्रेसले संसद्मा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भने कुनै पनि आँच आउन नदिने दृढता व्यक्त गरे ।

Share Now

Leave a comment.