
सिंगापुर, २९ जेठ । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँगको उनको शिखरवार्तामा ठोस प्रतिबद्धताहरू नभएको भनी आलोचना भैरहेको भए तापनि त्यसलाई एकदमै ठूलो सफलता भनेका छन्।
शिखर बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले दुई नेताबीच हस्ताक्षर भएको दस्तावेजमा उल्लेख नभएका विवरणहरूका बारेमा समेत जानकारी दिएका छन्।
उनले दक्षिण कोरियासँग मिलेर हुँदै आएको संयुक्त सैनिक अभ्यासहरु बन्द गर्ने बताएका छन्, जस्लाई अमेरिकाले दिएको ठूलो छुटका रुपमा हेरिएको छ।
बदलामा उत्तर कोरियाली नेता किमले आफ्नो देशको एक प्रमुख क्षेप्यास्त्र इञ्जिन परीक्षणस्थल नष्ट गर्ने वाचा गरेको उनले बताए।
तर उनका अनुसार अमेरिकी सैन्यबल तत्कालका लागि दक्षिण कोरियामै रहनेछ।
ट्रम्पले आफू र किम एउटा विस्तृत सहमतिमा पुगेको र अमेरिकाले केही पनि नगुमाएको पनि बताएका छन्। उनले उत्तर कोरिया विरुद्धका प्रतिबन्धहरू हाललाई कायमै राखिने पनि बताए।
सिंगापुर
सिंगापुरको एक पाँच तारे होटेलमा शिखर बैठक आयोजना गरिएको थियो।
बैठकपूर्व अमेरिका र उत्तर कोरियाको राष्ट्रिय झण्डा पृष्ठभूमिमा राखेर दुवै नेताले मुस्कुराउँदै हात मिलाएका थिए।
लगत्तै ती दुई नेताबीच एक्लाएक्लै वार्ता भयो। अनि दुवै देशका अधिकारीहरू सम्मिलित वार्ता भएको थियो।
दुवै नेताका निम्ति उक्त बैठकले ठूलो चुनौती र विशाल अवसर दुवै प्रदान गरेको छ।
अवसर
उत्तर कोरियाले बैठकलाई आफ्नो देशलाई वैधता दिलाई विश्व मञ्चमा सामान्य अवस्थामा फर्काउने अवसरको रूपमा लिएको थियो।
ट्रम्पको हकमा यदी बैठक सफल ठहरिए उनीअघिका कुनै अमेरिकी राष्ट्रपतिले गर्न नसकेको काम गरेको श्रेय उनलाई मिल्ने थियो।
मंगलवारको सहमतिमा उत्तर कोरियाली नेता किमले कोरियाली प्राय:द्वीपको पूर्ण परमाणु निरस्त्रीकरणप्रति उनको अविचलित प्रतिबद्धता दोहोर्याएका छन्।
तर पर्यवेक्षकहरूले चाहिँ सो सहमतिपत्रमा खासगरी कसरी निरस्त्रीकरण हुने भन्ने बारे ठोस विषय नरहेको भनी आलोचना गरेका छन्।
बीबीसी