
सिंगापुर, २९ जेठ । राष्ट्रपति ट्रम्प तथा उत्तर कोरियाली नेता किमबीच भएको शिखरबैठकपछि अब संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएका प्रतिबन्धहरू खुकुलो पार्ने समय आएको हुनसक्ने चिनियाँ सरकारले जनाएको छ।
उत्तर कोरियाको एक मात्र प्रमुख कूटनीतिक तथा आर्थिक साझेदार चीनले किम तथा ट्रम्पबीच भएको शिखरबैठकले नयाँ इतिहासको रचना गरेको प्रतिक्रिया दिएको छ।
कसको के प्रतिक्रिया?
कोरियाली प्राय:द्वीपमा परमाणु निरस्त्रीकरण तथा शान्ति स्थापना गर्ने उद्देश्यका साथ आयोजना गरिएको बैठकलाई विश्वभरिबाट चासो र उत्सुकतापूर्वक हेरिँदै त्यसबारे विभिन्न प्रतिक्रियाहरू व्यक्त गरिएका छन्।
सो बैठकलाई दक्षिण कोरियाले ठूलो हदसम्म सकारात्मक भनेको छ।
यसै वर्षको आरम्भमा किमसँग प्रत्यक्ष भेटवार्ता गरेका दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले, उनकै शब्दमा, दुई कोरिया तथा अमेरिकाले शान्ति तथा सहयोगको नयाँ इतिहास लेख्ने बताएका छन्।
शीतयुद्धको बाँकी रहेको अवशेष पनि सिङ्गापुरमा भएको शिखरभेटले अन्त्य गराइदिने मूनले बताएका छन्।
जापानी प्रधानमन्त्री शिन्जो आबेले अमेरिकी राष्ट्रपति ट्रम्पको नेतृत्व तथा प्रयासको प्रशंसा गरेका छन्।
उनले परमाणु निरस्त्रीकरणप्रति उत्तर कोरियाको प्रतिबद्धतालाई समर्थन गर्दै त्यसलाई उत्तर कोरियासम्बन्धी समस्याहरूको विस्तृत समाधानतर्फको एक कदम भनेका छन्।
तर रुसले चाहिँ विस्तृत विवरणहरू आउन बाँकी रहेको भन्दै सावधानीपूर्वक प्रतिक्रिया दिएको छ।
दुई नेताबीच भेट हुनु मात्र पनि सकारात्मक रहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताए।
चेतावनी
इरानले भने उत्तर कोरियालाई ट्रम्पको विश्वास गरिनहाल्न सुझाव दिएको छ।
इरानी सरकारका प्रवक्ता मोहम्मद बाकेर नौबख्तले उत्तर कोरियालाई ट्रम्पको विश्वास नगर्न चेतावनी दिँदै उनी अमेरिकाका विद्वान प्रतिनिधि नभएको बताए।
इरानसँग भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट हालै अमेरिका छुट्टिएको थियो।