Prakash Adhikari June 13, 2018

 

काठमाडौं, ३० जेठ । जिल्ला अदालत काठमाडौंले १० लाख धरौटी लिएर तारेखमा छोडेको भिएलएन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठलाई तत्कालै ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

न्यायाधीश अमृत बहादुर बस्नेतको इजलासले मागेको १० लाख धरौटी बुझाएर छुटेलगत्तै प्रहरीले उनलाई फेरि पक्राउ गरेको हो।

उनी विरुद्ध ललितपुर जिल्ला अदालतमा अर्को ठगी मुद्दा दायर भएको छ।
त्यही मुद्दाका लागि अदालतमा उपस्थित गराउन उनलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ३ अर्ब ठगी गरेको अभियोगमा काठमाडौं सरकारी वकिल कार्यालयले सोमबार श्रेष्ठ विरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगोसहित मुद्दा दर्ता गराएको थियो।

प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर ९ओएससी०, भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो।

त्यसै क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।
मलेसियाका सरकारी निकायसंगको मिलेमतोमा उनले मलेशियाकालागि भिसा प्रकृया मिलाइदिने काम गर्ने संस्था भिएलएन खोलेर उनले मलेशिया काममा जाने कामदारसंग अनावश्यक रकम लिने चाँजो पाँजो मिलाएका थिए ।

Share Now

Leave a comment.