मस्को(रुस),जेष्ठ ३१ (एजेन्सी )। रुसमा बिहीबार अर्थात् १४ जुन देखि शुरु हुन गईरहेको बहुप्रतिक्षित फिफा विश्वकप फुटबल प्रतियोगितामा केही पुराना किर्तिमानहरु तोडिने क्रम पनि शुरु हुनेछ ।
रुसको ११ शहरहरुमा रहेको १२ स्टेडियममा हुने खेलहरुमा केही किर्तिमानहरु दाउमा हुने छन् । आउनुहोस यस विश्वकपमा तोडिने संघारमा रहेका ७ किर्तिमानबारे चर्चा गरौं ।
१) कप्तानका रुपमा सबैभन्दा बढी गोल

रसिया विश्वकपमा सबैको आकर्षण बन्नेछन् लियोनल मेसी । जसले यस प्रतियोगितामा सर्वाधिक गोल गर्ने कप्तानको किर्तिमान तोड्न सक्ने छन् । विश्वकपमा कप्तानका रुपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिना कै लिजेण्ड डिएगो म्याराडोना हुन् । उनले विश्वकपमा कप्तानका रुपमा कुल ६ गोल गरिसकेका छन् ।
उता मेसीको नामम हालसम्म ५ गोल छ । जसमा उनले चार गोल सन् २०१४ मा ब्राजीलमा सम्पन्न विश्वकपमा कप्तानका रुपमा गरेका थिए । यदि यस विश्वकपमा थप दुई गोल गरे मेसीले कप्तानका रुपमा म्याराडोनाको किर्तिमान बराबरी गर्नेछन् भने तीन गोल गरे मेसीले यो किर्तिमान तोड्ने छन् ।
२) गोलस्कोरिङ मेशीन थोमस मुलर

जर्मनीका स्टार फरवार्ड थोमस मुलर तीन विश्वकपमा पाँच वा सो भन्दा बढी गोल गर्ने पहिलो फुटबलर बन्न सक्ने छन् । मुलर बाहेक जर्मनी कै मिरोस्लाभ क्लोज र पेरुका टियोफिलो कुबिलासले एक भन्दा बढी विश्वकपमा पाँच गोल वा सो भन्दा बढी गोल गरेका छन् ।
क्लोज १६ गोलसहित विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । मुलर हाल १० गोलका साथ क्लोजभन्दा पछाडी छन् र यस विश्वकपमा उनले यो किर्तिमान तोड्न सक्छन् ।
३) अल हदारी बन्नेछन् सबैभन्दा पाका फुटबलर

इजिप्टका गोलरक्षक तथा कप्तान एसम अल हदारी जब रसिया विश्वकपमा आफ्नो पहिलो खेल खेल्न मैदानमा उत्रिने छन्, तब विश्वकप खेल्ने उनी सबैभन्दा बढी उमेरका पाका फुटबलर बन्ने छन् । हदारीको उमेर ४५ बर्ष ५ महिना छ ।
यसअघि यो किर्तिमान सन् २०१४ को ब्राजीलमा सम्पन्न विश्वकपमा कोलम्बियाका फेरिड मोन्ड्रृेगनको नाममा थियो । कोलम्बियाले ब्राजीलमा आफ्नो पहिलो विश्वकप म्याच खेल्दा उनी ४३ बर्ष ३ दिनका थिए ।
४) ओस्कार तबारेज र फर्नान्डो सान्तोषले पनि बनाउनेछन् नयाँ किर्तिमान

रसिया विश्वकपमा बढी उमेरका पाका खेलाडी बाहेक पाका प्रशिक्षकहरुले पनि आफ्नो जलवा देखाउने छन् । यदि यो विश्वकपमा उरुग्वे र पोर्चुगल क्वाटरफाइनलमा एक–आपसमा भिडे यी दुई टोलीका प्रशिक्षक क्रमश ओस्कार तबारेज र फर्नान्डो सान्तोषले कुल उमेरको मामिलामा नयाँ किर्तिमान बनाउने छन् ।
त्यतिबेला यी दुवै प्रशिक्षकको संयुक्त उमेर १३५ बर्ष ३ महिनाको हुनेछ र उनीहरुले हालसम्म कायम रहेको १३३ बर्ष ९ महिनाको किर्तिमान तोड्ने छन् । यो किर्तिमान ग्रीसका ओटो रेहगल र नाइजेरियाका लार्स लेगरब्याकले सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा बनाएका थिए ।
५) राफा माक्र्वेजले खेल्नेछन् पाँचौ विश्वकप

राफा माक्र्वेज पनि यस विश्वकपमा सबैभन्दा पाको उमेरका खेलाडीहरुको सूचीमा सामेल छन् र उनी आफ्नो नाम इतिहासमा दर्ता गराउने संघारमा छन् ।
यदि माक्र्वेजले रसिया विश्वकपमा खेल्ने अवसर पाए पाँचपटक विश्वकप खेल्ने उनी तेस्रो तथा मेक्सिकोका दोस्रो खेलाडी बन्ने छन् । यसअघि मेक्सिकोका एन्टोनियो कार्वाहल र जर्मनीका लोथार म्याथ्युजले यो उपलब्धी हासिल गरिसकेका छन् ।
इटालीका जियानलुईजी बुफोन पनि पाँचपटक विश्वकप खेल्ने इटालीको राष्ट्रिय फुटबल टोलीको सदस्य थिए । तर सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा उनले खेल्ने अवसर पाएका थिएनन् ।
६) रोनाल्डोले बनाउनेछन् चार विश्वकपमा गोल गर्ने किर्तिमान

मेक्सिकोका माक्र्वेजको ध्यान थप एक किर्तिमानतर्फ हुनेछ । यद्यपि यो किर्तिमानका लागि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अष्ट्रेलियाका टिम काहिल पनि दावेदार छन् ।
यदि यी तीन खेलाडीहरुले रसिया विश्वकपमा गोल गर्न सफल भए चार विश्वकपमा गोल गर्ने खेलाडीहरुको सूचीमा पर्नेछन् । यसअघि जर्मनीका युवे सिलर, मिरोस्लाभ क्लोज र ब्राजीलका लिजेण्ड पेलेले यो उपलब्धी हासिल गर्न सफल भईसकेका छन् ।
७) स्पेशल क्लबमा समावेश हुन सक्छन् डिडिएर डेसच्याम्पस

अहिलेसम्म मारियो जगालो र फ्रेन्ज बेकेनबाउरले मात्र खेलाडी र प्रशिक्षकका रुपमा विश्वकपको उपाधि जित्न सफल भएका छन् । यदि रसिया विश्वकपको उपाधि फ्रान्सले जित्न सके डिडिएर डेसच्याम्पसको नाम पनि यो सूचीमा समावेश हुनेछ । डेसच्याम्पस कै कप्तानीमा फ्रान्सले सन् १९९८ मा घरैमा सम्पन्न विश्वकपको उपाधि जितेको थियो ।


















