काठमाडौं, २८ भाद्र । कृषि तथा पशुपन्छी विकासका माननीय मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको समग्र विकासको लागि कृषि दशकको घोषणा कार्यक्रमको तयारी भईरहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटले काठमाडौंमा आयोजना गरेको नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन शत्रलाई बिहिवार सम्बोधन गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।
कार्यक्रमलाई संबोधन गर्नुहुँदै प्रमुख अतिथि अधिकारीले सरकारले कृषि क्रान्तिको लागि २०८१—२०९१ सम्म कृषि दशक मनाउन लागेको जानकारी गराउनु भयो । उहाँले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाएर कृषि उपज निर्यात गर्ने अवस्थामा पुर्याउन कृषि क्षेत्रमा आयात प्रतिस्थापनको प्रयास आरम्भ गर्न लागिएको पनि जानकारी गराउनुभयो ।
कार्यक्रमलाई संबोधन गर्नुहुँदै कार्यक्रमका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि छलफल गरी ती समस्याहरुको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण गर्न सघाउने बताउनुभयो ।
उहाँले महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुकालागि, स्थापना काल देखि सहयोग र समन्वय गर्दै गर्दै आईरहेको बताउनुभयो । ्
उहाँले युएसएआईडी को सहयोगमा सिमितद्वारा संचालित नेपाल सेड एण्ड फर्जिलाईजर प्रोेजेक्ट ले लघु, साना तथा मझौला उद्यमहरुलाई सहयोग कार्यक्रम संचालनका लागि महासंघको कृषि उद्यम केन्द्रसंग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले एन्साफ(नेपाल सीड एण्ड फर्टिलाईजर प्रोजेक्ट)ले नेपालको कृषि रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरिरहेको र मकै लगायतका बालीहरुको प्रबद्र्धनबाट देशमा बढ्दो मकैको मागलाई सम्बोधन गर्न सहयोग पुगेको बताउनुभयो । अध्यक्ष ढकालले सिमिटले नेपालमा मकैको बिऊ सुधारका साथै उत्पादन र उत्पादकत्व बृद्धिका लागि कार्य गर्ने गरी एन्साफ परियोजना संचालन हुनु सुखद रहेकोले यस्ता परियोजनाहरु निरन्तर संचालित हुनपर्ने बताउनुभयो ।
नीजि क्षेत्रको प्रतिनिधि संस्थाको रुपमा आबश्यक पर्ने सहयोगका लागि महासंघ सदैब तत्पर रहको बताउनुहुँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री बाताबरण सिर्जनाकालागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने खाँचो भएकोले सहकार्यकालागि आह्वान समेत गर्नुभयो ।
कार्यक्रममा उपस्थित सबैलाई कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य श्री डि.बी. बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
२०४८ सालमा नेपाल उद्योग वाणिज्य महासंघको कृषिसंग सम्बन्धित एकाईको रुपमा स्थापना भएको कृषि उद्यम केन्द्र स्थापनामा नेपाल स्थित अमेरिकन सहयोग नियोग यूएसएआईडी को ठूलो भूमिका रहेको छ ।
स्थापनाकालदेखि हालसम्मका ३३ वर्षको यात्रामा कृषि उद्यम केन्द्रले कृषि व्यवसाय प्रबर्द्धनमा महत्वपूर्ण योगदान गर्नुका साथै नीतिगत पैरवी गर्दै सरकारसंग हातेमालो गर्दै थुप्रै नीतिहरु निर्माणमा महत्वपूर्ण योगदान गरेको छ ।
यसका साथै केन्द्रले बिभिन्न बिकास साझेदारहरु संग मिलेर कृषि व्यवसाय प्रबर्द्धनका लागि संचालित बिभिन्न आयोजना, परियोजनाहरु कार्यान्वयन साझेदारको रुपमा रहि योगदान गरेको समेत सभापति बस्नेतले जानकारी गराउनुभयो ।
कृषि उद्यम केन्द्र ले, नेउवामहासंघले अबलम्बन गरेको सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप नेपाल सरकारसंग साझेदारी गरी “एक गाउँ एक उत्पादन कार्यक्रम (ओभीओपी)” संचालन मार्फत स्थानीय उत्पादनलाई प्रवर्द्धन, बजारीकरण, ब्रान्डिग गर्ने कार्य १० बर्षे काम सफलता पूर्वक संचालन गरेको स्मरण गर्नुभयो ।
कृषि उद्यम केन्द्रलाई बिश्वास गरेर सिमिटले यूएसएडको सहयोगमा संचालन गरिरहेको “नेपाल वीउ तथा मल परियोजनामा “लघु, साना तथा मझोला उद्यमी सहयोग कार्यक्रम कार्यान्वयन गर्न सहकार्य गर्ने मौका दिनुभएकोमा उहाँले सिमिट
र खासगरि नेपाल टिम र यसका प्रमुख डा.द्युतिमान चौधरीप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले यो परियोजना मुख्यतया मकै, धान, मसुरो, तोरी, आलु लगायतका बाली केन्द्रित रहेको बताउनुभयो ।
सन २०२३ सेप्टेम्बर बाट शुरु भएको सहकार्य अनुसार कृषि उद्यम केन्द्रले फिल्डमा कार्यक्रमहरु सफलतापूर्वका कार्यान्वयन गरिरहेको र अझै राम्रो परिणाम आउने गरी सहकार्यको अन्तिम अवधि नेभेम्बर २०२४ सम्म कार्यान्वयन गरि नै रहने प्रतिबद्धता व्यक्त गर्नुहुँदै सभापति बस्नेतले आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको अपेक्षा समेत रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले सरकारले घोषणा गरेको कृषि लगानी वर्षमा यस गोष्ठीमा उठान भएका विषय वस्तुलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोहि अवसरमा सिमिटका आवासीय प्रतिनिधी एवं परियोजना संयोजक डा। द्युतीमान चौधरीले सिमिटले लामो समयदेखि मकै बाली लगायतको क्षेत्रमा कार्य गर्दै आइरहेको र हाल महासंघ कृषि उद्यम केन्द्र संगको सहकार्यमा संचालित परियोजनाको परिणाम राम्रो आएकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै इकोनोमिक ग्रोथ अफिस युएसएआइडि नेपालका उपनिर्देशक जुडिथ आल्मोडोभरले नेपाल बिऊ तथा मल परियोजनारसिमिट र एफएनसिसिआई एइसी संगको सहकार्यमा भएको कामको परिणाम राम्रो देखिएको प्रभावकारी ढंगले परियोजनाबाट भएकोमा सहकार्य सफल भएको अनुभूति भएको र आगामी दिनमा थप सहकार्य हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सहकारीका अध्यक्ष ओमदेवी मल्लले नेपालमा सहकारीको १८ वटा क्षेत्र भएतापनि १७ वटाबाट अन्य कामहरु भैरहेको र एकबाट कृषि सहकारीको काम हुने गरेको जानकारी गराउनुभयो ।
उहाँले सहकारीबाट उत्पादित चिया एवं दुधको बजारीकरणमा समस्या भएतापनि अन्य उत्पादनहरुको अन्तराष्ट्रिय व्यापार सफल रहेको जानकारी गराउनु भयो । वार्षिक ५ मेट्रिक टन भन्दा बढी कफी विदेश निर्यात हुने गरेको र ३ अर्व भन्दा बढी जडीबुटीको वार्षिक कारोबार हुने गरेको बताउनुभयो । सहकारी मार्फत संचालित लघु, साना तथा घरेलु उद्योग ५०० भन्दा बढी उद्योगहरु सफल रहेको समेत जानकारी गराउनुभयो । उहाँले नेपालमा सहकारी मार्फत कोप मार्टहरुको शुरुवात भएकोमा खुशी समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई संबोधन गर्नुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले देशको रोजगारीको सबै भन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदान प्रशंसनीय रहको बताउनुभयो । सरकारले सर्टिफिकेसनमा रहेको समस्या समाधानमा पहल भैरहेको, रैथाने बालीको प्रबद्र्धनमा सरकारले सहायोग गरिरहेको, ईन्नोभेटिभ काम गर्नेलाई पुरस्केत गर्ने परिपाटिको विकास भएको बताउनुभयो ।
उहाँले लघु तथा साना घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने विषयमा केन्द्रित रहेको र त्यसकालागि निजीक्षेत्रको भूमिका महत्वपूर्ण रहेकोले सहकार्यकालागि अनुरोध समेत गर्नुभयो ।
कार्यक्रमलाई संबोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले कृषि प्रधान देश भएता पनि कृषिमा आत्मानिर्भर हुन नसकेको नेपालमा कृषि क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले कृषि क्षेत्रमा रहेको समस्या सबै कृषि विधेयकमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुई दिने कार्यशाला गोष्ठीमा लुम्बीनी र सुदूरपश्चिम प्रदेशका कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कंचनपुरका साथै देशका विभिन्न जिल्लाका कृषि उद्यमी तथा जिल्ला स्तरका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रीय स्तरबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सरकारी तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।