रिचर्ड ग्रे / बीबीसी फ्यूचर
लण्डन(संयुक्त अधिराज्य), २९ भाद्र । आरएमएस टाइटानिकले समुद्रको गहिराइको चकमन्न अँध्यारोमा १ सय १२ वर्ष बिताइसकेको छ।
सन् १९१२ को एप्रिल महिनामा औँसीको चिसो रातमा ८८३ फिट लामो टाइटानिक दुई टुक्रा भएको थियो। त्यसका भग्नावशेष समुद्रको करिब ३.८ किलोमिटर तल पीँधमा पुगेका थिए।
पानीजहाजमा रहेका १ हजार ५ सय भन्दाबढी यात्रुहरू र चालक दलको मृत्यु भएको थियो।
समुद्रको गहिराइमा आक्कलझुक्कल जाने र त्यहाँ रहेका केही साना कलाकृति ल्याउनेबाहेक भग्नावशेष खासै चलाइएको छैन र बिस्तारै त्यो क्षय हुँदै गइरहेको छ।
न्युफाउन्डल्यान्ड तटको ६ सय ४० किलोमिटर दक्षिण पूर्वमा पर्ने क्षेत्रमा हालै गरिएको समुद्रको भ्रमणबाट प्राप्त तस्बिरहरूमा त्यसको बिग्रँदो अवस्था देखिएको छ।
सन् १९८५ मा भग्नावशेष पत्ता लागेयता टाइटानिकको अगाडिको भागमा देखिने रेलिङण्बारहरू)का तस्बिरहरू प्रख्यात बने।
तर सन् २०२२ मा ती रेलिङहरूको अवस्था हेर्दा त्यो मक्किन थालेको पाइयो। सन् २०२४ मा त रेलिङको महत्त्वपूर्ण भाग नै टुक्रिन पुगेको थियो।
विश्वकै सबैभन्दा चर्चित पानीजहाजको भग्नावशेष कसरी समुद्रको त्यो गहिराइको चरम वातावरणमा टुक्रिँदै छ भन्ने यसले सङ्केत गर्छ।
समुद्रको पीँधमा रहेको पानीजहाजमाथि पानीको प्रवाह र ब्याक्टेरियाले फलामलाई असर गर्दा पानीजहाजको संरचना नै मक्किँदै गएको छ। यसले गर्दा समुद्री वासस्थानलाई पनि अचम्म लाग्ने गरी प्रभाव पारेको छ।
पानी मुनिको दबाव
पानीजहाज डुब्दा टाइटानिक मुख्य गरी दुई भागमा टुक्रिएको थियो। त्यसरी टुक्रिएको अगाडि र पछाडिको भाग समुद्रको पीँधमा करिब ६०० मिटरको दूरीमा गएर बजारिएको थियो। पछाडिको भाग डुबेर सिधै पीँधमा गएको थियो भने अघिल्लो भाग बिस्तारै डुबेको थियो।
टाइटानिक डुब्दा पछाडिको भागबाट २ किलोमिटरभन्दा परसम्म पानीजहाजका सम्बन्धित सामग्री, विभिन्न भागहरू र कोइला छरिएको थियो।
पानीजहाजको अगाडिको भाग आइसबर्ग (समुद्रमा हुने हिउँको विशाल ढिक्का)सँग ठोक्किएपछि त्यहाँ करिब ४३ हजार टन पानी पानीजहाजभित्र छिरेको थियो।
तर पछाडिको भाग टुक्रिएपछि भने त्यहाँ हावा मात्रै भरिएका डिब्बाहरू थिए। समुद्रमा उक्त भाग प्रवेश गर्दा पानीको प्रवाह तीव्र गतिमा गयो र त्यसले गर्दा पानीजहाज भित्रको संरचना छिन्नभिन्न हुने गरी भत्कियो।
समुद्रको पीँधमा टाइटानिकले करिब ४०एमपीएको पानीको प्रवाह झेलिरहेको हुन्छ जुन भनेको सतहमा भन्दा ३ सय ९० गुणा बढी हो।
तर पानीजहाजमा हावा भरिएका खाली ठाउँ बाँकी नभएका कारण थप प्रलयकारी विस्फोटन हुने सम्भावना भने देखिँदैन।
बरु, पानीजहाजको आफ्नै अत्यधिक तौलले यसको अन्त्यलाई सघाउ पुर्याइरहेको छ। समुद्रको पीँधमा ५२ हजार टनको स्टील रहेकाले त्यसैले पानीजहाजलाई छिन्नभिन्न पार्न दबाव दिइरहेको छ।
त्यसको अध्ययनका लागि बेला बेलामा पानी मुनि गएका विभिन्न टोलीले जहाजमा ठूल्ठूला दरारहरू आएको पाएका छन्।
“भग्नावशेषको आइकोनिक छाँया आकार बिस्तारै वर्षैपिच्छे परिवर्तन भइरहेको छ”, सन् २०२२ मा टाइटानिकको भग्नावशेषको उच्च स्तरको तस्बिर स्क्यानका लागि समुद्रमा गएको टोलीका नेतृत्वकर्ता गेरहार्ड सीफेर्टले भन्नुभयो। उक्त काम मजेलन कम्पनीबाट भएको थियो जसले समुद्रको गहिराइमा गएर नक्साङ्कनको काम गर्छ।
“सन् २०२२ मा म जाँदा रेलिङको भाग खसेको थिएन जुन अहिले खसेको छ, क्याप्टेनको बाथरुमको छत खस्नुलाई उदाहरणका रूपमा लिन सकिन्छ”, उहाँले भन्नुभयो।
सीफेर्टले रासायनिक कारणले स्टील, रड र अन्य सामग्रीहरू थप पातलो बन्दै जाँदा त्यसले संरचनालाई कमजोर पारिरहेको बताउनुभयो।
ब्याक्टेरियाले ढाकिएको छ
अन्य कुनै फलामे वा स्टीलको संरचनाजस्तै टाइटानिक पनि खिया लागेर बिग्रिँदै छ। तर अक्सिजन र पानीले फलाममा खिया लाग्ने जमिनमा हुने रासायनिक प्रक्रिया र समुद्रको ३.८ किलोमिटर पीँधमा रहेको ठाउँमा हुने प्रक्रिया फरक हुन्छ। टाइटानिकमा फलाम वा स्टीलजस्ता संरचना खास गरी ब्याक्टेरियाका कारण खिइरहेको छ।
टाइटानिकको भग्नावशेषलाई ब्याक्टेरिया, ढुसी र अन्य सूक्ष्म जीवहरूको एउटा तह जसलाई बायो फिल्म भनिन्छ त्यसले ढाकेको छ।
सुरुमा सिरानी, रुमाल, काठका सामग्रीलगायतले सूक्ष्म जीवहरूलाई पर्याप्त पोषण दिएको थियो जसले गर्दा उनीहरूलाई समुद्रको गहिराइमा सहज भयो।
समयसँगै अन्य सूक्ष्म जीवहरूले पनि आफ्नो स्थान जमाए। सायद समुद्रको पीँधबाट वा परपरबाट आएर उनीहरू त्यहाँ फैलिए।
पानीजहाजको फलामलाई अक्सिडाइज गर्ने ब्याक्टेरिया र अम्ल उत्पादन गर्ने अन्य कुराले त्यसलाई बिगार्दै लग्यो। खिया खपत गर्ने अन्य सूक्ष्म जीवहरू पनि भग्नावशेषमा पाइयो।
भग्नावशेष हेर्न जानेहरूले संरचनाहरूमा अक्सिडाइज मेटलमा झुण्डिरहेका खिया पनि देखे। यस्तोमा बन्ने भनेको सूक्ष्म जीवहरूको समूह हो। सन् १९९१ मा गरिएको एउटा भ्रमणका क्रममा वैज्ञानिकहरूले त्यस्तो खियालाई फुटाउँदा ती कन्टेनरकै पीँधमा फर्किन सकेका थिए।
सूक्ष्म जीवमध्ये अनुसन्धानकर्ताहरूले भग्नावशेषमा पत्ता लगाएको ब्याक्टेरिया त्यति बेला विज्ञानका लागि पूर्ण रूपमा नयाँ थियो। हेलोमोनास टाइटानिकका नाम दिइएको उक्त ब्याक्टेरियामा जिन हुन्छ जसले फलामलाई टुक्र्याउँछ।
वैज्ञानिकहरूका अनुसार पानीजहाजको अगाडिको भन्दा पछाडिको भागमा धेरै क्षति भएको थियो र त्यसले गर्दा त्यसको बिग्रिने क्रम ४० वर्ष छिटो भयो।
ूत्यसैले टाइटानिकको अगाडिको भागमा पनि जहाँ पानीजहाज टुक्रिएको थियो त्यो क्षेत्र नटुक्रिएको भन्दा बढी खिइएको छ,ू इस्टर्न फ्लोरिडा स्टेट कलेजका सूक्ष्म जीव विज्ञ एन्थोनी एल-कोरीले भन्नुभयो।
उहाँले सूक्ष्म जीवले टाइटानिकलाई कसरी बिगारिरहेको छ भनेर बुझ्न टाइटानिक चलचित्रका निर्देशक जेम्स क्यामरुन र क्यानडाका चलचित्र निर्देशकसँग काम गर्दै आउनुभएको छ।
“पानीजहाजको इन्जिन, फ्यानटेल, प्रोपेलरहरूबाहेक पछाडिको भाग समुद्रको पीँधमा पग्लिएको देखिन्छ”, एल-कोरीले भन्नुभयो।
सन् २००५ मा गरिएको समुद्रमुनिको भ्रमणका बेला क्यामरुनले टाइटानिकको टर्किश बाथमा खिया फैलिएको फूलजस्तो देख्नुभयो र उहाँले त्यसको नाम ‘रस्टफ्लावर्स’ राख्नुभयो।
अत्यधिक खिया
समुन्द्री पीँधमा फलामयुक्त धातुको विशाल संरचना बज्रिन पुगेपछि त्यस वरिपरि अस्वाभाविक इकोसिस्टम पैदा गर्न पुग्यो। फलाम खिया लाग्दै जाँदा फलामका स साना टुक्राहरू वरपरको पानीमा घुलिँदै गयो जसले गर्दा गहिरो समुन्द्रमा दुर्लभ तर महत्त्वपूर्ण पोषण उपलब्ध गरायो।
“पृथ्वीमा फलाम सबैभन्दा सामान्य तत्त्व भए पनि पानीमा घुल्ने फलाम भने समुद्रमा पाइने दुर्लभ पोषण हो जसले समुद्री प्रणालीको सफलतालाई सीमित तुल्याउँछ”, एल-कोरीले भन्नुभयो।
एल-कोरी र उहाँका सहकर्मीहरूले फलाम-सम्बन्धित ब्याक्टेरियाहरूले केवल टाइटानिकको फलाम मात्रै खाइरहेका छैनन् बरु ूत्यसमा सास फेर्ने क्षमता पनि राख्छन्” भन्ने पत्ता लगाउनुभयो।
वैज्ञानिकहरूको अनुमान अनुसार टाइटानिकले प्रत्येक दिन ०.१३ देखि ०.२ टन खिया गुमाइरहेको छ। यसलाई आधार मानेर केही मानिसले २८० देखि ४२० वर्षमा पानीजहाजको अगाडिको भागको फलाम पानीमा घुलिने अनुमान गरेका छन्।
समुद्री सतहमा पानीको प्रवाह
तर अन्य कारणले पानीजहाजको भग्नावशेषको क्षतिको गति तीव्र बनाउन सक्छ। समुद्रको पीँधमा पानीको प्रवाह शक्तिशाली हुन्छ।
पानीजहाजको अगाडिको भागमा दक्षिणपट्टि पानीको प्रवाह खासगरी परिवर्तनशील हुन्छ र त्यो उत्तर पूर्वबाट उत्तर पश्चिम वा दक्षिण पश्चिम दिशामा जान्छ।
यीमध्ये कुनै पनि प्रवाह खास गरी शक्तिशाली नमानिए पनि यसले भग्नावशेषलाई कमजोर पारेर टुक्र्याउने गरी दबाव भने दिन्छ।
“पनडुब्बीहरूले पैदा गर्ने समुद्री पानीको प्रवाहले पनि कमजोर संरचनालाई ध्वस्त पार्न सक्छ”, शेफर्टले भन्नुभयो।
पानीको प्रवाहले पूर्ण रूपमा छिन्नभिन्न बनाउनुअघि टाइटानिकको भग्नावशेषलाई थिग्राउने सम्भावना पनि छ।
तर त्यो भन्दाअगाडि नै हालै पानीजहाजको अगाडिको भागका रेलिङहरू खसेजस्तै केही आइकोनिक भागहरू भने विलीन भइसक्न सक्छन्।
सन् १९९७ को टाइटानिक चलचित्रमा मुख्य पात्र रोज र ज्याक उभिएको चर्चित दृश्यमा पानीजहाजको अगाडिको भागको त्यही रेलिङ देख्न सकिन्छ।
“मेरो अनुमानमा भर्याङ भएको ग्र्यान्ड स्टेरकेस, मार्कोनी रसम, अफिसर्स क्वार्टर करिब सन् २१०० तिर विलीन हुन्छ”, एल-कोरीले भन्नुभयो,
“रेलिङजस्ता पातला स्टीलहरू चाँडै बिलाउँछ। तर अहिलेकै गतिमा खिइँदै जाँदा पनि पूर्ण रूपमा विलीन हुन भने कैयौँ शताब्दी लाग्नेछ।”
“टर्किश बाथमा भएका टाइलहरू जस्ता पोर्सेलेनहरू त सधैँ नै त्यस्तै रहन सक्छ”, एल-कोरीले भन्नुभयो।
यो मानवीय कमजोरी र अभिमानको सबभन्दा दुखद उदाहरण झल्काउनेमध्ये एक विशेष स्मारक बन्नेछ। तर शायद संसारभरिका मानिसको समवेदनाले भरिएको एक पानीजहाजको मर्मस्पर्सी शान्त अन्त्य पनि हो ।