
काठमाडौं, ३१ जेठ । एशियाली विकास बैंकको वैकल्पिक निर्देशक पदमा कार्यरत पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीलाई सरकारले फिर्ता बोलाएको छ।
बिहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सुवेदीलाई फिर्ता बोलाई अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई उक्त पदमा पठाउने निर्णय गरेको छ।
त्यसैगरी, नेपाल सरकार र चीनको चीन अन्तर्राष्ट्रिय विकास सहायता नियोगबीच मानव विकास सहायता सम्बन्धी समझदारी गर्ने निर्णय पनि बैठकले गरेको छ।
नेपाल सरकार र चीनको एक कम्पनीबीच उत्पादन क्षमता विकासका लागि लगानी र सहयोग सम्बन्धी समझदारी गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
त्यस्तै जापान सरकारबाट प्रोजेक्ट फर हयुमन रिसोर्स डेभलपमेण्ट स्कलरसिप अन्तर्गत प्राप्त हुने २७ करोड ५५ लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
नेपाल सरकार ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालय र चाईना कम्युनिकेशन्स कन्स्ट्रक्सन कम्पनीबीच सम्पन्न हुने मेमोरेण्डम अफ अण्डरस्ट्याण्डीङ एण्ड को–अपरेशनलाई स्वीकृत गर्नुका साथै सो समझदारी पत्रमा हस्ताक्षर गर्न सम्बन्धीत मन्त्रालयले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।
नेपालको संघीय प्रदेश तथा स्थानीय तहमा रहेका सार्वजनिक वित्त तथा खरिद व्यवस्थापनमा संलग्न संस्थाहरूको प्रणाली तथा कार्यविधिलाई सरलीकरण र प्रभावकारी बनाउने उद्देश्य राखी विश्व समूहको अन्तर्राष्ट्रिय विकास संस्थाको आईडी ए बाट करिब १५ मिलिनिय अमेरिकन डलर बराबरको सहायता स्वीकार गर्ने र त्यसका लागि सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
त्यस्तै सरकारले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षमा महेन्द्र विष्ट र राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्षमा हरिहर अधिकारी श्यामललाई नियुक्त गरेको छ।
सरकारले संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावली पास गर्नका लागि संघीय संसदको संयुक्त बैठक असार ३० अपरान्ह ४ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।