Prakash Adhikari September 16, 2024

 

ओेन्टारियो(क्यानडा), ३१ भाद्र । आईसीसी विश्वकप लिग २ छनोट छरण अन्तर्गत आज नेपाली टोली क्यानडाको ओन्टारियोमा घरेलु टोलीसंग भिड्दै छ ।

ओन्टारियामा नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक ओडीआई सिरिज भइरहेको छ ।

नेपालले आफ्नो पहिलो खेल आज क्यानडाको घरेलु टोलीसँग खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको ओन्टारियोस्थित किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडीआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ गते क्यानडासग छ भने अन्तिम खेल असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछन् ।

ओडीआई सिरिज सकिएको २ दिन पछि त्रिकोणीय ऋृखलामा प्रतिस्पर्धा गरेका टोलीबीचमा टी २०आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गतेसम्म हुनेछ ।

टी २० आई सिरिजको पहिलो खेल नेपालले असोज १२ गते घरेलु टोली क्यानडासंग खेल्ने छ भने दोस्रो खेल असोज १३ गते ओमानसँग खेल्नेछ ।

तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

नेपाल क्यानडाबीचको यसै वर्षको सुरुमा भएको ३ खेलको ओडीआई सिरिजमा घरेलु टोली नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।

 विगतका ३  खेल

पहिलो खेलमा नेपालले ७ रनको जित हात पारेको थियो । त्यो खेलमा नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा ओभरमा २ सय १७ रनमा अल आउट भएको थियो ।

सिरिजको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक पूरा गरेका थिए ।

तेस्रो खेलमा नेपालले ९ विकेटको सानदार जित हात पारेको थियो । क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।

घरेलु मैदानमा त नेपालको नतिजा राम्रो नै छ तर यो खेलमा क्यानडासँगको खेल घर बाहिर हुने हुँदा नेपाललाई केही चुनौती हुन सक्छ । यसअघि नेपालले देश बाहिर १० वटा राष्ट्रमा ३८ खेल खेल्दा १५ खेल मात्र जितेको छ । घरेलु मैदानमा भने नेपालले २६ खेल खेल्दा १८ मा जित तथा ८ मा हार बेहोरेको छ ।

लिग टु अन्तर्गत २०२४ बाट २०२७ सम्म ३६ ओडिआई खेल्ने नेपालले ४ खेल खेलिसक्दा १ मा मात्र जित हात पारेको छ । त्यो एक जित पनि घरेलु मैदानमा आएको थियो ।

नेपालले लिग टुको यस पटकको सिरिजमा पहिलो पटक घरबाहिर खेल्दैछ । सन् २०१९ बाट २०२३ सम्म चलेको अघिल्लो लिग टुमा नेपालले घरबाहिर भएका २४ मध्ये ९ खेलमा जित हात पार्दा १३ खेलमा पराजित भएको थियो ।

Share Now