
काठमाडौं, ३१ जेठ (बीबीसी) । नेपालका प्रधानमन्त्री केपी ओलीले अर्को साता चीन भ्रमण गर्दा काठमाण्डू-केरुङ रेलमार्गबारे एउटा समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्रमन्त्रीले बताएका छन्।
चीनसँग हिमालय पार बहुपक्षीय सञ्जालको अवधारणाअन्तर्गत रेलमार्गसहित सडक, हवाई अनि यातायात तथा पारवहनसम्बन्धी विषयवस्तुहरूमा समेत केही सम्झौता हुन सक्ने उनले बताए।
महत्त्व
दक्षिणी छिमेकी भारतको भ्रमण गरेको करिब दुई महिनापछि प्रधानमन्त्री केपी ओली उत्तरी छिमेकी चीन जान लागेका हुन्।
ओलीको यस पटकको भ्रमण दुई वर्षअघि भारतसँगको नाका बन्द रहेको बेला प्रधानमन्त्रीकै हैसियतमा चीनमा गएर गरेका सम्झौताहरूको कार्यान्वयनमा केन्द्रित हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।
उनका अनुसार त्यसको मूल पक्ष चाहिँ हिमालय वारिपारि रहेका दुई देशबीचको बहुपक्षीय सञ्जाल विकासको अवधारणा रहेको छ।
“यो दुई देशबीचको अत्यन्त महत्त्वपूर्ण अवधारणा हो। यसले रेलवे, सडक, हवाई मार्ग, बन्दरगाह अनि प्रसारण लाइनहरू समेट्छ।”
“यस पटक यसै अवधारणालाई मूर्त रूप दिने गरी केही सम्झौताहरू गर्ने गरी दुवै देश सघन तयारीमा लागेका छन्। काठमाण्डू-केरुङ भनौँ वा सीमा वारपार गर्ने रेलवे विकासबारे एक समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ,” उनले भने।
अरू के सम्झौता?
यसपालिको भ्रमणमा हस्ताक्षर हुन सक्ने अन्य सम्झौताहरूमा आठवटा उत्तरी नाकाहरूमार्फत् नेपालले खाद्य तथा आवश्यक सामग्री पारिपट्टिको तिब्बती राजमार्गहरूको प्रयोग गरी देशकै एक ठाउँबाट अर्को ठाउँ ओसारपसार गर्न पाउने विषय तथा तातोपानी र केरुङ नाकामा चीनले पुल बनाइदिने कुरा समेत रहेको उनले बताए।
यातायात र पारवाहन सहमतिको विस्तृत विवरण सहितको दस्तावेज ‘प्रोटोकल’ पनि यसै भ्रमणमा टुङ्गो लगाउने प्रयास हुने उनले बताए।
चीनको बहुचर्चित ‘बेल्ट एन्ड रोड अभियान’ अन्तर्गत परियोजनाहरू पहिचान भएका र तिनको पैसा जुटाउने प्रारूपबारे छलफल भइरहेको परराष्ट्रमन्त्रीको भनाइ थियो।
‘ऋणको पासो‘
दक्षिण एशियाकै छरछिमेकका कतिपय देशले चीनसँग चर्को दरमा ऋण लिएर दु:ख पाएको अर्थात् ऋणको पासोमा परेको भन्ने जस्ता खासगरी भारतीय तथा कतिपय पश्चिमा टिप्पणीकारको भनाइ रहेको छ।
त्यसबारे नेपाल कत्तिको सजग रहेको छ त भनेर सोधिएको प्रश्नमा उनको जवाफ थियो, “बाहिर आएका कतिपय कुराबाट हामी धैरै चिन्तित हुनुपर्छ जस्तो मलाई लाग्दैन। जहाँसम्म नेपालको कुरा छ, हाम्रा आफ्ना प्राथमिकता छन्। सित्तैमा पायो भने एक पाथी चुक समेत खाने भन्ने उखान छ, हामी त्यस्तो गर्दैनौँ। त्यसैले हाम्रो निम्ति यो विषय, विषय नै होइन। नेपाल ऋणमा डुबेको देश पनि होइन, ऋणमा डुब्दा पनि डुब्दैन।”
असार ५ बाट सुरु हुने प्रधानमन्त्रीको चीन भ्रमणका बेला उनले चिनियाँ राष्ट्रपति सहित प्रधानमन्त्री तथा अन्य वरिष्ठ नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।