
काठमाडौ ,२ असार (बीबीसी) । नेपालले थप हवाई प्रवेश मार्गको अनुमती दिन भारतसमक्ष लामो समयदेखि राख्दै आएको प्रस्तावबारे काठमाडौमा बिहीवारदेखि सुरु द्वीपक्षीय छलफल थप लम्बिएको छ।
भारतले अन्य हवाई प्रवेश मार्ग दिएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या सहज हुने नेपाली अधिकारीहरु बताउँछन्।
चीनबाट आउने विमान सगरमाथा आसपास क्षेत्र र भुटानबाट आउने विमानको निम्ति मेचीलाई प्रवेश मार्ग तोकिएको छ।
तर त्रिभुवन विमानस्थलका अनुसार ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदै काठमाडौ भित्रिन्छन्।
बाध्यता
भारतले अन्य हवाई प्रवेश मार्ग दिएमा हुने लाभबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री भन्छन्, “पूर्व काँकडभिट्टामाथिबाट तथा विराटनगरबाट छिर्नुपर्ने जहाज सिमराबाट छिर्नुपर्ने हुनाले बढि समय र ईन्धन खपत भयो। हामीले जुन नेपालगंजबाट प्रवेश माग गरेका छौं, त्यसबाट प्रवेश गर्दा धेरै समय र ईन्धन बचत हुन्छ।”
पूर्व काँकडभिट्टामाथिबाट, विराटनगरबाट छिर्नुपर्ने जहाज सिमराबाट छिर्नुपर्ने हुनाले बढि समय र ईन्धन खपत भयो। हामीले जुन नेपालगंजबाट प्रवेश माग गरेका छौं, त्यसबाट प्रवेश गर्दा धेरै समय र ईन्धन बचत हुन्छ
राजकुमार क्षेत्री, महाप्रबन्धक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
हवाई ट्राफिक जामका कारण उडान तालिका प्रभावित हुनुका साथै आकाशमै विमान ‘होल्ड’ गर्नु पर्ने बाध्यता छ। थप रुट पाएमा त्यसको व्यवस्थापन समेत सहज हुने महाप्रबन्धक क्षेत्री बताउँछन्।
उनले भने, “सिमराबाट काठमाडौ विमानस्थलको दुरी कम छ। कम समयमा लेभल मिलाउनुपर्ने हुन्छ। सबै जहाज नेपाल छिरेपछि हामीले ल्याण्ड गराउनुपर्ने वा होल्ड गराउनुपर्ने बाध्यता छ। तर बिराटनगर रुट, जनकपुर रुट र नेपालगंज रुट पायौं भने त हाम्रो चार तीरबाट जहाज प्रवेश गर्न सक्छ।”
पाँच वर्षदेखि नेपालले अघि बढाएको प्रस्तावबारे छलफल अघि बढाउन भारतीय प्रधानमन्त्रीको हालैको नेपाल भ्रमणका क्रममा सहमति भएको थियो।
आशावादी
त्यसले पनि नेपाली अधिकारीहरु केही आशावादी देखिन्छन्।
सहमति भएमा कार्यन्वयनमा आउने प्रक्रियाबारे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम भन्छन्, “कुनै नयाँ रुट खुल्यो भने त्यसको सुरक्षाको पूर्व समिक्षा गर्नुपर्छ। त्यसपछि पनि ५६ दिनसम्मको ‘एअर्याक’ प्रणालीमा हाल्नुपर्छ विश्वव्यापी गराउन। अन्तराष्ट्रिय मापदण्ड अनुसार त ५/६ महिनासम्म लाग्नसक्छ।”
कुनै नयाँ रुट खुल्यो भने त्यसको सुरक्षाको पूर्व समिक्षा गर्नुपर्छ। त्यसपछि पनि ५६ दिनसम्मको ‘एअर्याक’ प्रणालीमा हाल्नुपर्छ विश्वव्यापी गराउन। अन्तराष्ट्रिय मापदण्ड अनुसार त ५/६ महिनासम्म लाग्नसक्छ
सञ्जिव गौतम, महानिर्देशक, उड्डयन प्राधिकरण
नेपालले विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जबाट पनि विदेशी विमान नेपाल भित्रिन दिन भारतसँग आग्रह गर्दै आएको छ।
नेपालले मागेका केही प्रवेश बिन्दू नजिक आफ्नो भूभागमा सुरक्षा फौजका इकाइ रहेको भन्दै भारतले आनाकानी गर्ने गरेको नेपाली अधिकारीहरु अनुभव सुनाउँछन्।
तर सहसचिवस्तरीय बैठक भए लगत्तै हुने भनिएको दुवै देशका प्राविधिक समितिको बैठक डेढ वर्षपछि जुरेको हो।