
काठमाडौं, २ असार । राजस्थानको मरुभूमिमा आएको हुरीले वायुमण्डलमा पुर्याएका धूलिकणहरुका कारण नेपालमा शुक्रबार र शनिवार धमिलो बर्षा भएको छ ।
गए राति नेपालका विभिन्न स्थानमा भएको जस्तो धमिलो पानीको वर्षा हुने सम्भावना अझै टरिनसकेको जलवायु तथा मौसम विभाग।ले बताएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार राति र शनिवार बिहान नेपालमा विभिन्न स्थानमा धमिलो पानीको वर्षा भएको थियो।
यसबारे विभागले विज्ञप्ति जारी गर्दै यो अवस्था अझै केही दिनसम्म रहनसक्ने बताएको छ।
विभागका एक मौसमविद् मिनकुमार अर्यालका अनुसार भारतको राजस्थानमाथिको आकाशबाट फैलिएको धुलो नेपाली आकाशमा आइपुगेपछि नेपालमा पनि धुलो मिसिएको पानी परेको हो।
‘पिउन अयोग्य’
उनले भने, ‘जमिनबाट सात(आठ किलोमिटर माथि रहेको त्यो धुलोको तह नेपालसम्म आउने क्रम जारी रहेको छ। अझै एक(दुई दिन धुलो मिसिएको धमिलो पानीको वर्षा हुने क्रम जारी रहन सक्छ।’
उनका अनुसार यसअघि यसरी धमिलो पानीको वर्षा बेला बखत हिउँद याममा मात्र हुने गरेको थियो।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजस्थान आसपासको मरुभूमिमा अझै पनि धुलोको हुरी चलिरहेको र त्यो पूर्वतिर सर्ने क्रम जारी रहेको हुँदा मनसुन सक्रिय भइ देशको पश्चिम भागसम्म नफैलिँदा अझै केही दिन सो धुलोको प्रभाव नेपालको वायूमण्डल तथा पर्ने पानीमा देखिने सम्भावना छ।’
गए राति काठमाण्डूमा ६ मिलिमिटर, पोखरामा ३० मिलिमिटर र ताप्लेजुङमा १८ मिलिमिटर वर्षा मापन गरिएको थियो।
विज्ञहरूले वर्षाको बेला पर्ने आकाशे पानी पिउन योग्य हुने बताउँदै आएका थिए।
अर्यालले भने, ‘तर यसरी धमिलो पानी पर्न थालेपछि आकाशे पानी पिउनुअघि विचार गर्नुपर्ने भएको छ। यस्तो पानी पिउन योग्य छैन भनेर हामी भन्न सक्छौँ।’
बीबीसी