काठमाडौं, ११ कात्र्तिक । साफ वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनल खेलमा नेपालले गरेको गोललाई रेफ्रिले मान्यता नदिएपछि खेलस्थल दशरथ रंगशालामा तनाव सिर्जना भएको छ।
पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा नेपालकी फरवार्ड रेखा पौडेललाई रेड कार्ड दिइयो र त्यस लगत्तै ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरिन ।
भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ ।
रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो ।
नेपालले आफूहरुले गरेको गोलले मान्यता पाउनुपर्ने अडान राखेको छ भने भारतले उक्त गोललाई मान्यता दिन नहुने अडान राखेको छ । त्यसैले रेफ्रीहरु अलमलमा छन् ।
खेलको मुख्य रेफ्री भुटानकी ओम चोकी हुन् भने असिस्ट्यान्ट रेफ्री भुटानकी छोडेन छिरिङ र बंगलादेशकी मोने सल्मा अख्तर छन् ।