काठमाडौं, ११ कार्तिक । नेपाली चेलीहरु साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेका छन् ।
आज साँझ दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो ।
दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । नेपाली फरवार्ड रेखा पौडेलले भारतकी रन्जना चानुमाथि फल गरेपछि रेफ्री चोकी ओमले दोस्रो पहेंलो कार्ड देखाएकी थिइन् । त्यसअघि उनले पहिलो हाफको इन्ज्युरी समयमा मनिषामाथि गरेको फलका कारण पहेंलो कार्ड पाएकी थिइन् । रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो । खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो ।
भारतले गोल गरेपछि सबै खेलाडी गोलको खुसी मनाउन थाले । त्यसक्रममा सबै खेलाडी आफ्नो बेन्चतर्फ गए । भारतको हाफ र बेन्च एकैतर्फ रहेकाले नेपालले गोल खाएपछि फटाफट बल चलाउने सुर गर्यो । नेपालले बल चलाउने क्रममा भारतका कुनै खेलाडी विपक्षी हाफमा नरहेका कारण रेफ्री चोकी ओमले सिठी बजाइन् । प्रिती राईले बल अघि बढाउँदै गोल पनि गरिन् । तर रेफ्रीले त्यसपछि फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल दिइनन् । खेलमा विवाद भयो र झन्डै १ घण्टा खेल रोकियो ।
खेल सुचारु भएको केहीबेरमा नेपालले गोल फर्कायो । प्रिती राई ले मिडफिल्डबाट दिएको पासलाई साम्बाले गोलरक्षक र डिफेन्डरको बीचबाट गोल गरिन् ।
त्यसपछि थप गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा भारतको पहिलो प्रहारमा कप्तान आशालता देवीले पोस्टमा प्रहार गरिन् । साम्बाले नेपालको पहिलो पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रतामा पुर्याइन् । भारतकी मनिषाले दोस्रो प्रहारमा गोल गरिन् । नेपालकी गीता रानाले गोल गर्दै २-१ को अग्रतामा पुर्याइन् । त्यसपछि पुरुषोत्तम शिरोभ्करले गोल गर्दै खेल २-२ मा ल्याइन् । सविताले तेस्रो प्रहारमा गोल गर्दै खेलमा नेपालको अग्रता कायम राखिन् ।
भारतको चौथो प्रहार गरेकी रन्जना चानुको पेनाल्टीलाई अन्जनाले रोकिन् । त्यसपछि अमिषा कार्कीले गोल गर्दै नेपाललाई जित दिलाइन् ।
आजकै पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।